सडक विस्तारले बस्ती नै सखाप हुने भएपछि दुहवीबासी आक्रोसित

दुहवी, साउन २१ । बस्ती नै सखाप पार्ने गरी सडक विस्तार गर्ने भएपनि सुनसरीको दुहवीबासी पिडित बनेका छन् । पूर्वाञ्चल सडक डिभिजन कार्यालयले दुहवी नगरपालिकाको दुहवी बजारलाई लक्षित गरि सडकको ३१/३१ मिटरको (१०२ फिट) दाँयाबाँया घर टहरा हटाउन दिएको निर्देशनविरुद्ध आक्रोसित दुहवी बजार वासीले कडा प्रतिरोध गर्ने भएका छन् ।

आईतबार बसेको बजारवासीको वृहत भेलाले सरकारी कदम हचुवा र मनोमानीपूर्वक भएको भन्दै सिताराम अग्रहरीको संयोजकत्वमा २१ सदस्य दुहवी बजार रक्षा समिति गठन गरेका छन् । उक्त भेलाको पहल स्थानीय नौलौ युवा क्लवको पहलमा भएको थियो ।

दुहवी बजार इटहरी र अन्य सडक छेउका बजारभन्दा पुरानो बजार हो । २०१० सालमा दुहवीको पुरानो बजारमा आगलागी भई पुनः बसेको यो बजार सडक विभागले उल्लेख गरेको कोशी राजमार्ग तथा त्यस सम्बन्धी सडक ऐन भन्दा पुरानो हो ।

सडकमा समेत यहाँको नागरिकको निजी जगा परेको छ । भने यहाँका वासिन्दाहरुले बजार नै उठिवास गराउने सड्यन्त्र विरुद्ध कडा संघर्ष गर्ने घोषणा गरेका छन् । सो भेलामा समितिका संयोजकले आफुहरु विकास विरोधी नभएको तर, दुहवीबासीको थातथलो नै नामेट गर्न ल्याइएको सडक भने नस्विकार्ने बताए । ‘हामी विकास विरोधी हैनौं तर बजार नै सखाप पार्ने गरि गरिएको निर्णय स्वीकार्न सक्दैनौ ।’ रक्षा समितिका संयोजक सिताराम अग्रहरीले बताए ।

उनले विभागले निर्णय नसच्याए जस्तोसुकै आन्दोलन गर्न दुहवीबासी तयार रहेको चेतावनी दिए । विभागले दायाँ बाँया ३१ मिटर कायम गरी सडक विस्तार गरे अधिकांश स्थानीयको घर जग्गा जानेछ ।

कोशी राजमार्गमा दायाँ बायाँ ३१–३१ मिटर र दुहवी इनरुवा सडक खण्डमा दायाँ बायाँ २१–२१ मिटर निषेधित क्षेत्र भन्दै उक्त क्षेत्र भित्र कुनै पनि घर, टहरा, पसल बनाउन  दिन र बनेका घर, टहरा, पसल हटाउँन सडक विभागले आदेश दिएको छ ।

दुहवी बजार क्षेत्रका २०० बढी घर परिवारहरु विस्थापित हुने भएपछि वाइपास गरेर सडक बनाउन भन्दै स्थानियहरुले दवाव दिएका छन ।

सडकबाट दाँयाबायाँ ३१/३१ मिटर कायम गर्दा अधिकांश भवनहरु भत्कीने हुँदा बस्तीनै विनास हुने देखिएको नेकपाकी केन्द्रिय सदस्य तथा फरवार्ड नेपालकी अध्यक्ष भगवती चौधरीले बताइन् । ‘दुहबी बजारलाई जोगाएर यहाँका जनताको सम्पत्ति पनि खेर नजाने गरी सडक निर्माण गरिनुपर्दछ । यसका लागि बरु बाइपास गरेर सडक निर्माण गर्दा फाइदा हुन्छ ।’ चौधरीले भनिन् ।

२०१० सालदेखि दुहबी बजार बसेकोले पनि यसको संरक्षण गरिनुपर्ने स्थानीयहरुको भनाइ छ । विराटनगर देखि इटहरी हुँदै धरान सम्मका लागि तिन प्रकारकोे सडक सिमा व्यवस्था गरिएको छ ।

राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ ले सडकको केन्द्रबाट २५/२५ गंज कायम गरेको थियो । तर, बस्ती बिस्तारको क्रममा स्थानीयले घर निर्माण गरेका थिए । त्यस्तै २०३४ सालतिर राजपत्रमा सुचना गरी रानी धरान सडक केन्द्रबाट दायाँ बायाँ २५/२५ मिटर र ६ मिटर सेड ब्याक गरि ३१ मिटर कायम गरिएको थियो ।

दक्षिणतर्फ भारत र उत्तर तर्फ चीनसँगको सिमासम्म जोड्ने यो सडक आयोजनालाई देशकै आर्थिक सम्बृद्धिको मार्गको रुपमा लिने गरिएको छ । २०७० सालबाट विराटनगर देखि इटहरी हुँदै धरान सम्म २ लेनको सडकलाई ४९ किलोमिटर ६ लेनको रुपमा विकास गर्न थालिएको थियो । ५ वर्ष भित्र सम्पन्न गर्ने गरि थालिएको यो परियोजनाको काम निकै सुस्त गतिमा विस्तार हुँदै आएको छ । अहिलेसम्म ५० प्रतिशत समेत काम सम्पन्न भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *