गोदावरी खोलाले कार बगायो, बागमती किनारका सुकुम्बासी बस्ती डुबानमा, सतर्क रहन आग्रह

काठमाडौँ, साउन २१ । काठमाडौं उपत्यकासहित देशैभरी आइतबार साँझदेखि नै लगातार पानी पर्दा जनजीवन प्रभावित बनेको छ ।

वर्षाको कारण उपत्यकाका सबैजसो खोलामा बाढी आएको छ। ललितपुरको महालक्ष्मी नगरपालिका– ८ स्थित आएको बाढीले पार्किङ गरी राखेको बा १४ ४७४९ नम्बरको कार बगाएको छ ।

कार ललितपुर लुभुका प्रेमराज लावतीको रहेको प्रहरीले जनाएको छ। डोजरको सहायतामा कारलाई बाढीबाट बाहिर निकालिएको छ। ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि डुबानको खतरा रहेकाले सतर्कता अपनाइएको छ ।

आइतबार साँझदेखि सुरु भएको वर्षा आज दिनभरी नै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ।

त्यस्तै गएरातिदेखिको अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।

शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् भने भैँसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टर पनि डुबानमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *