नुरप्रसादलाई झिकाउन अदालतको आदेश

चितवन, साउन २० । जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ ।

अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार उक्त आदेश गरेको हो ।

शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पुर्याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गरिएको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए ।

यसअघि फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गरेका थिए।

सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको हो ।

 

अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेका अनुसार म्याद जारी गर्दा स्वयं व्यक्ति, नभेटिए घरका जहान, त्यो पनि सम्भव नभए घरको मूल ढोकामा म्याद टाँस गर्नुपर्ने हुन्छ ।

यसअघि रित नपुगेका कारण पुनः म्याद जारी गर्न आदेश भएको हो । घिमिरेका अनुसार भदौ ४ गते अधिकारीलाई अदालतमा हाजिर हुने गरी म्याद जारी गरिने भएको छ ।

अदालतमा आइतबार वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली, जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराम गिरी र अधिवक्ता ईन्द्र अर्यालले बहस गरेका थिए ।

त्यसैगरी प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ता दिनमणि पोखरेलले बहस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *