मैत्रीपूर्ण खेलमा संगीता र विमला विजयी

काठमाडौँ, साउन २० । अठारौँ एशियाली खेलकूदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत बक्सिङका दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जीत हासिल गरेका छन् ।

चार मुलुकका टोली सम्मिलित उक्त मैत्रीपूर्ण खेलअन्तर्गत आज भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगीता सुनारले थाइल्याण्ड बी टोलीकी पुर्नापालाई अंकको आधारमा पराजित गरेकी हुन् ।

उनले यसअघि शनिबार भएको खेलमा पनि थाइल्याण्ड ए टोलीकी बुन्याबुचलाई हराएकी थिइन् ।

त्यस्तै आजै भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी विमला श्रेष्ठले ५१ केजी तौलसमूहमा थाइल्याण्ड बी टोलीकी निल्लाडालाई अंककै आधारमा पराजित गर्दै विजयी भइन् ।

आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेसियाको जाकार्तामा हुने १८औँ एशियाली खेलकूदको तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणरत छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *