“हेटौंडा उपमहानगरको राजमार्ग क्षेत्रमा अब “”नो पार्किङ”””

“
काठमाडौँ, साउन २० । हेटौँडा उपमहानगरको राजमार्ग क्षेत्रमा पार्किङ निषेध गरिएको छ । हेटौँडाको मेनरोड, पिपलबोट, राप्तिरोड, कान्तिराजपथसहित स्कुलरोड क्षेत्रमा बढी मात्रामा चाप हुने भएकाले पार्किङ निषेध गरिएको हो ।
सवारी चापका कारण यातायात आवागमन र पैदल यात्रीलाई असहज भएपछि हेटौंडा उपमहानगपालिका क्षेत्रमा पर्ने राजमार्गमा पार्किङ निषेध गरिएको छ ।
हेटौँडाको मेनरोडमा सवारी चापका कारण यातायात आवागमन र पैदल यात्रीलाई असहज भएकोले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय प्रमुख बुद्धिराज गुरुङ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरबिहादुर महतसहितको बैठकले सो निर्णय गरेको हो ।
व्यवस्थित शहर बनाउनका लागि बैठकले ‘नो पार्किङ’ को निर्णय गरेको हो ।
ट्राफिक अवस्था अस्तव्यस्त बन्दै गएको र यसको प्रमुख कारण अब्यवस्थित पार्किङ भएकाले बजार क्षेत्रलाई ‘नो पार्किङ’ क्षेत्र बनाउने निर्णय गरेको मेयर महतले बताए ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको राप्तिरोडमा ‘नो पार्किङ’ क्षेत्रको सुरुआत गरेपछि सुरु भएको विवादबीच करबि एक महिनापछि बैठकले तोकिएका क्षेत्रमा ‘नो पार्किङ’ बनाउने निर्णय गरेको हो ।
बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको पर्ने राप्तिपुलदेखि बुद्धचोक र वन विज्ञान अध्ययन संस्थानसम्म तथा त्रिभुवन राजपथको चौकिटोल ओरालोदेखि बुद्धचोकसम्म साना–ठूला सवारी साधन पार्किङलाई पूर्ण रुपमा बन्द गरिने निर्णय गरेको छ ।
बैठकले बुद्धचोकदेखि फरेष्ट्रिसम्म नो पार्किङ क्षेत्र घोषणाका लागि सो क्षेत्रमा पार्किङ हुँदै आएका दुई पाङग्रे तथा चार पाङग्रे सवारी पार्किङलाई हटाई टिसिएनको खाली जग्गामा पार्किङको व्यवस्था मिलाईने भएको छ ।
यसैगरी बजारभित्रका राजमार्गमा बिहान साँढे ८ बजे देखि बेलुका ७ः३० बजेसम्म लोड तथा अनलोड गर्नसमेत प्रशासनले रोक लगाएको छ ।
“








