‘अस्वीकृत गर्नु थियो भने दीपकराज जोशीलाई किन प्रस्ताव गरेको ?’- कांग्रेस

काठमाडौं, साउन १९। नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय भएको ठहर गरेको छ । कांग्रेसले यसलाई स्वतन्त्र न्यायपालिकामाथिको आक्रमण भनेको छ र संसदमा प्रभावकारी रुपमा उठाउने बताएको छ ।

शनिबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा सुनुवाई समितिको निर्णयबारे छलफल भएको थियो ।

राजनीतिक नियुक्तिहरुमा राष्ट्रिय सहमति होस् भनेर विपक्षी दलका नेता समेत रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई सोधेको छ, अस्वीकृत गर्नु थियो भने दीपकराज जोशीलाई किन प्रस्ताव गरेको ?’

जोशीका शैक्षिण प्रमाणपत्र शंकास्पद रहेको र जन्ममिति फरक भएको भए न्याय परिषद्ले संवैधानिक परिषद्लाई किन गुमराहमा राख्यो भन्ने प्रश्न पनि कांग्रेसले गरेको छ ।

सत्तारुढ दल नेकपाको बहुमत रहेको सुनुवाई समितिले राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गरेको कांग्रेसको आरोप छ । ‘सरकार र सत्तारुढ दलले स्वतन्त्र न्यायपालिकालाई नियन्त्रित न्यायपालिकाको रुपमा विकास गर्न खोजेको छ’ बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले भने, ‘यसलाई हामीले स्वतन्त्र न्यायपालिकामाथिको आक्रमण भएको निष्कर्ष निकालेका छौं ।’

प्रस्तावित प्रधानन्यायाधीश अस्वीकृत भएको नैतिक जिम्मेवारी संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने कांग्रेसकाे भनाई छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *