सरकारी निकायको मलजलमा नक्कली औषधि व्यवसायीको फैलिँदो जालो

काठमाडाैं, साउन १९ । गत साउन १३ गते धरान निवासी औषधी व्यवसायी जीवन अग्रवाललाई जिल्ला प्रशासन कार्यालय मोरङका एसपी मनोज कुमार केसीको नेतृत्वमा गएको टोलीले पक्राउ गर्यो । अग्रवालसँगै विराटनगरको न्युरो अस्पतालका संचालक दिपक राय, विराट मेडिकल कलेजका संचालक प्रशान्त चौधरीलाई पक्राउ गरेर सात दिनको म्याद थपेर हिरासतमा राखिएको थियो ।

उनीहरूमाथि बिरामीहरूलाई नक्कली औषधि बेचेको आरोप लागेको थियो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार अभियुक्तहरूले करिब ६६ प्रकारका नक्कली औषधिहरू बेचबिखनमा संलग्न थिए । न्युरो अस्पताल बिराटनगरको फार्मेसीको संचालक राजेश अधिकारी भने हालसम्म फरार छन् ।

उनलाई आत्मसमर्पण गर्न लगाएर धरौटीमा छुटाउने तयारी भैरहेको विशेष श्रोतले जनाएको छ । नेपालमा मेडिकल क्षेत्रमा भैरहेको बेथितिमध्ये नक्कली, म्याद नाघेका र दर्ता नभएका औषधिहरू बेच्ने र बिरामीबाट मोटो रकम कुम्ल्याउने प्रवृत्ति पुरानो हो । औषधि व्यवस्था विभाग र औषधि व्यवसायी संघकै मिलेमतोमा त्यो काम हुने गरेको भनेर विभिन्न श्रोतहरूबाट समाचार आउने गरेको छ । नक्कली औषधि बेचबिखनकाण्डमा विराटनगर स्थित औषधि व्यवस्था विभागको शाखा कार्यालयकी निरीक्षक आशा थापा छुट्टीमा बसेको बेला जिप्रका मोरङले प्रशासनको सहयोगमा चारवटा अस्पतालका फार्मेसी र मेडिकल कलेजमा छापा मारेर ६६ प्रकारका नक्कली, म्याद नाघेका र दर्ता नभएका औषधिहरू बरामद गरेको थियो ।

विराटनगर स्थित औषधि व्यवस्था विभागकी निरीक्षक छुट्टीमा बसेको बेला त्यहीँका अर्का कर्मचारी शम्भु पौडेललाई निमित्त तोकिएको थियो, तर पौडेलले पक्राउ परेका औषधि माफियाहरूलाई छुटाउन पहल गरिरहेको आरोप लागेको छ । विभागका महानिर्देशक नारायण ढकालले शुक्रवार नै निरीक्षक आशा थापालाई आफ्नो कार्यभार सम्हाल्न पठाएको र अनियमितता भएको देखिएको भए औषधि माफियाहरूलाई कारवाही गर्न पहल लिनको लागि आदेश दिईसकेको बताएका छन् । प्रशान्त चौधरी, दिपक राय र जीवन अग्रवाललाई पक्राउ गराउन एन्टी करप्सन मुभमेन्ट नेपालका अभियन्ताहरू धेरै समय देखि लागिपरेका थिए ।

ति मध्ये एक अभियन्ता सुरजित दत्तले नक्कली औषधि तस्कर गर्ने गिरोह ठूलो रहेको र यसलाई निमिट्यान्न पार्न सरकारले ठूलै कदम चाल्नुपर्ने भनेर जानकारी गरेका थिए । जीवन अग्रवालले नक्कली औषधिको कारोवार धेरै पहिलादेखि गरेको भएता पनि सरकारी निकायको लाचारीका कारणले यो कुरा बाहिर आउन सकेको देखिंदैन । यो विषयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मौनता अचम्मको रहेको देखिएको छ । श्रोतका अनुसार म्याक्स अस्पतालमा यादवको अदृश्य लगानी रहेको कारणले नक्कली औषधि व्यवसायीहरूलाई कारवाही गर्न मन्त्री यादव अनिच्छुक रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *