यी हुन् पाँच मुख्य नायकहरू जस्ले ‘ओडिआई’मा पहिलो जित हात पारे

काठमाडाैं, साउन १९ । नेपाललाई ओडिआईमा पहिलो जित दिलाउन कप्तान पारस खड्काले अन्तिम ओभरको अन्तिम बलमा डच खेलाडी फ्रेड क्लासेनलाई आउट गरे। उक्त बलमा क्लासेनले १ रनमात्र लिएको भए खेल बराबरी हुनेथियो। तर पारसले रनआउट गर्दै नेपाललाई १ रनको रोमाञ्चक जित दिलाए। कप्तान पारस खड्काले पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए।

पारस खड्का

उनी ओडिआई डेब्युमा सबैभन्दा राम्रो बलिङ गर्ने कप्तान समेत बने। दोस्रो खेलमा पारस खड्काले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। पारसले चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरीसँग २५ तथा पाँचौ विकेटका लागि रोहितसँग १६ तथा छैटौँ विकेटका लागि आरिफ सँग ४७ रनको साझेदारी गरे।

चौथो नम्बरमा ब्याटिङ गरेका पारसले ६९ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए। ओडिआईमा पारस यो पहिलो अर्धशतक हो भने नेपालका लागि अर्धशतक बनाउने दोस्रो खेलाडी हुन्। बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका पारसले अन्तिम बलमा विपक्षीको विकेट झार्दै नेपाललाई जित दिलाए।

अन्तिम बलमा नेदरल्याण्ड्सलाई जितका लागि ६ बलमा ६ रन आवश्यक थियो। यस्तो अवस्था क्याप्टेन लिड प्रम द फ्रन्ट भनेजस्तै पारस आफैँ अगाडी बढे र अन्तिम ओभरमा ४ रन मात्र दिएर नेदरल्याण्ड्सको अन्तिम विकेट रनआउटमा परिणत गरिदिए।

पारसले ६ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट लिए। उनले ४३औँ ओभरमा डच कप्तान पिटर सिलर (२१) लाई ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट गराए।

सोमपाल कामी

सोमपाल कामीले नेपाली इनिङ्समा सर्वाधिक ६१ रन बनाए। ४६ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा सोमपालले ६१ रन बनाए। नेपालको स्कोर १३५-६ हुँदा आठौँ नम्बरमा क्रिजमा पुगेका सोमपालले सम्हालिएर आक्रमक इनिङ्स खेल्दै नेपालको लागि सम्मानजनक स्कोर खडा गरे।

उनले नवौँ विकेटका लागि सन्दीप लामिछानेसँग ४१ रनको महत्वपूर्ण साझेदारी गरे। ओडिआई डेब्यु खेलमा शुन्यमा आउट भएका सोमपालले दोस्रो खेलमा भने शानदार ब्याटिङ गर्दै नेपालको जितको आधार तयार गरे।

नेपालको ओपनिङ बलर रहेका सोमपालले आफ्नो पहिलो स्पेलको पहिलो ओभरमै डच डेन्जरम्यान स्टेफन माइवर्गलाई शुन्यमा आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

आफ्नो पुरा १० ओभर स्पेल बलिङ गरेका सोमपालले ४१ रन खर्चर १ विकेट लिए।

सन्दीप लामिछाने

नेपालको स्कोर सम्मानजनक बनाउने क्रममा सोमपाल कामीलाई गतिलो साथ दिएका सन्दीपले ब्याटिङमा २२ बल खेल्दै ८ रन बनाए। थोरै रन बनाएपनि उनले क्रिजमा महत्वपूर्ण भूमिका खेले। सोमपालसँग ४१ रनको साझेदारी गर्दा कुनै रन बनाउन नसके पनि उनले दशौँ विकेटका लागि ललित भण्डारीसँग १२ रनको साझेदारी गरे।

यस्तै बलिङमा सन्दीपले एकै ओभरमा २ विकेट झार्दै डच साझेदारी तोडेका थिए। सन्दीपले ड्यानिएल डे ब्राक र वेस्ले बारेसीको अर्धशतकिय साझेदारी तोडेका थिए। उनले २९औँ ओभरमा यी दुईबीचको ८६ रनको साझेदारी तोड्ने क्रममा ब्राकलाई चौथो बलमा आउट गरे। त्यसै ओभरको छैटौँ बलमा बास डे लिडलाई शुन्यमा आउट गरे।

सन्दीपले एकै ओभरमा दुई विकेट लिँदै नेदरल्याण्ड्सलाई दवावमा राख्न सहयोग गरे। यस्तै सन्दीपले १२ रन बनाएका स्नाटरलाई बोल्डआउट गरे। सन्दीपले १० ओभर स्पेशलमा ४१ रन खर्चेर ३ विकेट लिए।

दीपेन्द्र सिंह ऐरी

नेपालको लागि ब्याटिङमा १९ रन बनाएपनि बलिङमा दीपेन्द्रले महत्वपूर्ण विकेट लिए। उनले नेदरल्याण्ड्सका लागि सर्वाधिक ७१ रन बनाएका वेस्ले बारेसीको विकेट लिए।

नेपालको लागि खतारा बनिरहेका बारेसीलाई उनले ३६औँ ओभरको पाँचौ बलमा एलबीडब्लु आउट गराउँदै नेपाललाई छैटौँ सफलता दिलाएका थिए।

दीपेन्द्रले उक्त ओभरमा मेडन राख्दै विकेट लिएका थिए। ५ ओभर बलिङ गरेका दीपेन्द्र १ मेडन रख्दै १९ रन खर्चेर १ विकेट लिए।

ललित सिंह भण्डारी

पहिलो ओडिआई खेलमा बेन्चमा बसेका ललितले यसै खेलमार्फत नेपालको लागि ओडिआईमा डेब्यु गरे। उनले डेब्यु खेलमा नेपाललाई निराश पारेनन्। नेदरल्याण्ड्सका २ विकेट लिए।

करण केसीको स्थानमा पहिलो रोजाईमा परेका ललितले सोमपाल कामीसागै नयाँ बल लिएर बलिङ गरे।

उनले सातौँ ओभरमा बेन कुपरको विकेट लिए। ओडिआईमा आफ्नो पहिलो विकेट लिने क्रममा उनले कुपरलाई रोहित पौडेलको हातबाट ब्याचआउट गराए। रोहितले सनसनी क्याच लिने क्रममा एक हातले क्याच लिँदै कुपरलाई आउट गरे। ललितले स्कट एडवार्ड्सलाई एलबीडब्लु आउट गरे। ९ ओभर बलिङ गरेका ललितले ४३ रन खर्चेर २ विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *