ऊर्जामन्त्री पुनले सुन्न थाले हटलाइनमा सेवाग्राहीका गुनासो

“
काठमाडौँ, साउन १८ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले सेवाग्राहीका गुनासो हटलाइनमा सुन्न थालेका छन् । पहिलो दिन शुक्रबार एक घण्टामा १९ जनाले गुनासो गरेका छन् ।
मन्त्री पुनले शुक्रबारदेखि ऊर्जा, जलस्रोत, सिँचाई एवं जल तथा मौसम विज्ञान विभागबारे सेवाग्राहीको समस्या सम्बोधन गर्न ‘हटलाइन’ बाट प्रत्यक्ष गुनासो सुन्ने कार्यक्रम शुरु गरेका हुन् । शुक्रबार गुनासो गरेका मध्य केहिको गुनासो तत्कालै सम्बोधन गरेका छन् भने केहिका गुनासो बुझेर सम्बोधन गर्ने बताएका छन् ।
हटलाइनमा राम ढकालले सोधे– द्वन्दकालमा विद्युत महशुल तिर्नु पर्दैन भन्नु भएको थियो, बक्यौता रहेको छ, के गर्नु ?
मन्त्रीले तत्काले जवाफ दिए, ‘यस विषयमा म बुझ्छु के गर्न सकिन्छ मन्त्रालयले गर्छ । तपाईलाई म पछि जानकारी गराउँछु ।’
काभ्रेको धुलिखेल नगरपालिकाका शसी तिमल्सिनाले सुनाए–रुख काट्दा ३/४ वटा पोल ढलेको छ । हटलाइनमै गोरखाको पालुङटारका लक्ष्मण पन्तले २५ केभिएको ट्रान्सफर्मर छ भन्दै ५० को राखिदिन माग गरे । यस्तै मन्त्रीपुनसँग विद्युत गुणस्तरीय नभएको, बारम्बार विधुत जाने गरेको, काठका पोल हटाउन माग गरे ।
वीरगन्जका शिवनारायण महतोले लाइन गहिरहने, विद्युत प्राधिकरणको फोन नउठ्ने, उठे पनि नबोल्ने गुनासो गरेपछि मन्त्री पुनले तत्काल वीरगन्ज वितरण केन्द्र प्रमुख मुनिन्द्र ठाकुरलाई फोन गरेर त्यस क्षेत्रको वितरण प्रणालीमा देखिएको समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिए ।
ठाकुरले वर्षाका कारण भाँचिएको पोल परिवर्तन गर्न लाइन काटिएको बताए । काभ्रे र कुलेश्वर वितरण केन्द्र प्रमुख क्रमशः रविन्द्रकुमार यादव तथा टेकनाथ तिवारीलाई पनि ट्रान्सफर्मर थप गरी गुणस्तरीय सेवा दिन निर्देशन दिए ।
सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री पुनले संकलन भएका गुनासो सरोकारवालासम्म पुर्याएर सम्बोधन गर्न निर्देशन दिने बताए । उपभोक्ताले पाउनुपर्ने सुविधामा हुने ढिलाई सुन्न र समस्या समाधान गर्ने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको मन्त्री पुनले बताए ।
यसअघि ८ जना कर्मचारी खटाएर २४ घन्टा गुनासो संकलन गर्दै आएको उर्जा मन्त्रालयले अबदेखि हरेक साताको शुक्रबार मध्यान्ह १२ देखि १ बजेसम्म मन्त्री आफैंले सेवाग्राहीका गुनासो सुन्न सुरू गरेका हुन् । सेवाग्राहीले टोल फ्री नम्बर ११५१ मा फोन गरेर मन्त्रीसँग गुनासो गर्न सकिने छ ।
“








