बालिका बलात्कारको घटनामा सांसद सुब्बाले भनिन् ‘आमा हुँ, मनै रुएको छ’

काठमाडौं, साउन १८ । नेपाली कांग्रेसकी नेतृ प्रतिनिधिसभा सांसद मिना सुब्बाले पछिल्लो समय बढ्दो बालिका बलात्कार र महिला हिंसाका घटनामा सरकार मुक दर्शक बनिरहेको भन्दै संसदको ध्यानाकृष्ट गराएकी छिन् ।

बिहीबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद सुब्बाले कन्चनपुर र काभ्रेमा घटेका बालिका बलात्कारका घटनामा अपराधी पत्ता लगाउन सरकार असफल भइरहेको भन्दै बलात्कार जस्तो जघन्य अपराधमा सरकार मुक दर्शक बनेर बस्न नहुने जिकिर गरिन् ।

‘कञ्चनपुर २ की १३ वर्षिय निर्मला पन्तको बलात्कार अनी हत्या र काभ्रेकी ९ वर्षिय बालिका बलात्कारको घटनाले मेरो मनै रुएको छ । आमा हुँ, आमाको मनै त होनी !’ उनले संसदलाई संवोधन गर्दै भनिन् –‘बलात्कारी पत्ता लगाउन नसक्नु बुहमतिय सरकार महिला र बालबालिका प्रति कत्तिको संवेदनशील रहेछ भन्ने गतिलो पहिचान मिलेको छ ।’

 यस अघि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटमा पनि सोहि कुरालाई प्राथमिकताका साथ राखेकी सांसद सुब्बाले सरकारले त्यस्ता अपराधमा संलग्न अपराधीको पहिचान गरी हदैसम्मको सजाय दिनुपर्ने बताइन् । ‘बलात्कार जस्तो घृणित अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्छ, अब बन्न लागेको मुलुकी ऐनले १५ देखि २० वर्षको सजाय तोक्दै भएपनि त्यस्ता अपराधीलाई मृत्यूदण्डकै ब्यवस्था गर्नुपर्छ ।’ उनले भनिन् ।

नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी सांसद सुब्बाले पछिल्लो समय महिला हिँसा र सामाजिक उत्पिडनमा परेका महिलाका पक्षमा संसदमा आवाज उठाउँदै आएकी छिन् । देशको जनसंख्याको ५२ प्रतिशत हिस्सा ओगट्ने महिलाका पक्षमा राज्य संवेदनशील नभएको भन्दै उनले पटकपटक संसदमा महिला हिँसाका घटनालाई ध्यानाकर्षणका लागि प्रस्तुत गर्दै आइरहेकी छिन् ।

‘जबसम्म आमा, दिदिबहिनी, छोरीचेली सुरक्षित हुँदैनन् । तबसम्म घर र समाज सुरक्षित हुँदैन । उनीहरुको सुरक्षाको जिम्मा राज्यले लिनुपर्दछ ।’ उनले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *