मन्त्रिपरिषद् विस्तार आज, को- को बन्दै छन् मन्त्री ?

काठमाडौँ, साउन  १० । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार गर्ने जनाएका छन् ।

माओवादी केन्द्रले मन्त्रिपरिषद्मा जानेको नाम टुंगो लगाए पनि कांग्रेसमा भने अझै टुंगो लाग्न सकेको छैन । कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षबाट एकरएक जना भागबन्डाका आधारमा मन्त्री बनाउने तयारी देउवाको छ ।

पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्तलगायतको नाम चर्चामा छ । यसअघि मन्त्री र राज्यमन्त्री भइसकेकालाई दोहोर्‍याउन नहुने दबाब पौडेल पक्षमा छ । सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी छ ।

प्रधानमन्त्री देउवालाई आफ्नै समूहबाट मन्त्री छान्न धौ–धौ परेको छ । मन्त्री बनाउनेहरूमा समावेशी र भौगोलिक सन्तुलन मिलाउन पार्टीभित्रैबाट देउवालाई तीव्र दबाब छ । देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशीलगायतको नाम चर्चामा छ ।

माओवादीले मन्त्रीको नाम टुंग्याए पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ । कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी सोमबार १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका छन्, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *