बन्दुक ताक्नेलाई निरुपालले भनिन् ‘मेरो त यो नाफाको जिन्दगी हो’

“
काठमाडौं, साउन १७ । मंगलबार साँझ नयाँबानेश्वर स्थित डेरा अगाडी अज्ञात समुहले घाँटीमा गोली दाग्दै धम्की दिएको घटनालाई सत्तारुढ नेकपाकी सांसद निरुपालले संसदमा पनि जानकारी गराएकी छन् । संसदको विशेष समयमा बोल्दै सांसद निरुपालले आफूमाथि सांघातिक आक्रमण भएको विषय संसदमा जानकारी गराएकी हुन् ।
सांसदमा निरुपालले संसदमा अवगत गराएको विषय जस्ताको तस्तैः
सभामुख महोदय, सांसद महोदय,
म स्वयम् यो देशको जनताको प्रतिनिधि, म माथि यही साउन १५ गते ८ बजेर १५ मिनेटमा एउटा घटना घट्यो । दुर्घटना भएन यो कुरा म सम्माननीय सभामुख मार्फत् सरकार र आम न्यायप्रेमी जनता समक्ष जानकारी गराउन चाहन्छु ।
यो देशमा एकजना सांसद सुरक्षित छैनन् भने अरु चेलीहरु कसरी सुरक्षित हुन सक्छन् ? नेपाली चेलीहरु दिनदिनै बलात्कारको शिकार भइरहेका छन् । ती बलात्कार गर्नेलाई फाँसी देउ सरकार भनेर हामीले भनिरहेका छौँ । यो सडकमा मात्र होइन हामीले सदनमा पनि यो नारा गुञ्जायमान गरेका छौँ ।
सम्माननीय सभामुख महोदय
म माथि घटेको घटनालाई पनि संसदमा विस्तृत जानकारी गराउन चाहन्छु ।
यही १५ गते म अलि छिट्टै घर पुगेको थिएँ, र साँझ ८ बजे दुध लिनका निमित्त बाहिर पसलमा गएँ । पसलमा जाँदा मेरो घर जाने बाटोमा साघुँरो गल्ली छ । म त्यहाँ पुग्दा रेनकोट लगाएको एउटा मान्छे उभिइरहेको थियो । मलाई देखिसकेपछि त्यो मान्छेले मतिर मुख फर्काएर दिवालतिर आफू फर्कियो । मैँले त्यति ध्यान दिइनँ । म वास्तै नगरी तल दुई चार वटा पसलमा गएँ ।
अलि तल पुगेपछि त्यहाँ दुई चार ओटा मोटरसाइकलहरु थिए र, तीन जनाले दिवालतिर खुसुखुसु कुरा गरिरहेका थिए । म सिधै दुध लिन गएँ । दुध लिएर फर्किने क्रममा मलाई खुट्टाले छेकेर तिनीहरुले सिधै मेरो घाँटिमा पेस्तोल लगाए ।
मेरो अहिले पनि घाँटीमा दुखिरहेको छ । मलाई घँचेटेर बन्दुक देखाएर मलाई तर्साए । मैँले यो घटनालाई अलि पृथक ढंगले लिएको छु ।
सम्माननीय सभामुख महोदय, मैँले कसैलाई आक्षेप लगाउन खोजिरहेकी छैन । यदि निरुपाललाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने कसैले सपना देखेको हो भने त्यो दिवा स्वप्न मात्रै हुनेछ ।
सम्माननीय सभामुख महोदय
भोलीको बैठकमा यदि तँ गइस् भने प्रधानमन्त्रीले समेत तेरो लास पाउन सक्दैन भनेर मलाई थे्रट गरियो र मोबाइल खोस्दै गर्दा ‘तैँले हल्ला गरिस् भने तँलाई यहीँ ढालिदिन्छु’ भनेर मलाई धम्क्याइयो ।
म भन्न चाहन्छु, निरुपाल, त्यो धम्क्याइले धम्किनेवाला छैन । निरुपाल त २०१४ मैँ मरिसक्नुहुन्थ्यो, यदि सम्माननीय प्रधानमन्त्रीज्यु र सम्माननीय राष्ट्रपति त्यतिखेर हुनुहुँदैन थियो भने ।
म त २०१४ मैँ मरिसकेको मान्छे । मेरो त यो नाफाको जिन्दगी हो । त्यसैले मैँले देश र राष्ट्रका सामु गद्दारी गर्ने छैन भनेर वाचा पनि गरेको छु । र मैँले मेरो ज्यानको परवाह नगरीकन कहिँ कतै नडगमगाइकन देश र जनताका पक्षमा लडिरहने छु, मेरो अन्तिम श्वास रहने बेला सम्म पनि म लडिरहने छु ।
निरुपाललाई तर्साएर समितिको बैठकमा अन्यथा गर्न खोजिएको हो भन्ने पनि मलाई लाग्दैन । मैँले अघि भने यसलाई पृथक ढंगले सोचिरहेको छु, तर पनि समितिको जे निर्णय आउँछ त्यही मान्य हुनेछ र, समितिलाई म आभार व्यक्त गर्न चाहन्छु, सबैले यस घटनालाई गम्भिर ध्यानाकर्षण गराउनु भएको छ । सम्माननीय सभामुख मार्फत् म सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु ।
मैँले त्यो घटना घट्ने बित्तिकै राज्य प्रमुखलाई खबर गरेको थिएँ र उहाँले सुरक्षा देखि अरु कुराहरुमा सतर्क गराउनु भएको छ । त्यसको लागि म सरकारलाई धन्यवाद दिँदै भन्न चाहन्छु, ‘निरुपाललाई मात्र होइन आम नेपालीलाई पनि सुरक्षाको प्रत्याभुति गराउनुस् ।’
“








