धरौटी बढाउने प्रस्ताव फिर्ता लिन दवाव दिने म्यानपावरको निर्णय

“
काठमाडौँ, साउन १६ । वैदेशिक रोजगार व्यवसायीहरुले सरकारले म्यानपावर कम्पनीको धरौटी बढाए इजाजत बुझाउने निर्णय गरेका छन् ।
लामो लफडापछि सकिएको व्यवसायीको भेलाले सरकारले धरौटी बढाउने प्रक्रिया तत्कालै नरोके कार्यालय बन्द गरेर इजाजत बुझाउने निर्णय गरेका हुन् ।
व्यवसायीको बुधबारको भेलाले हाल कायम ३० लाख धरौटी नै कायम राख्न माग गरेको छ । अहिलेको धरौटी रकम र बैंक ग्यारेन्टी बढाएमा सबै व्यवसायीले संघमार्फत इजाजत सरकारलाई नै बुझाउने निर्णय गरेको संघका महासचिव नरेश गेलालले जानकारी दिए ।
व्यवसायीले यसको विरोधमा दवाव दिन सबै संगठनको प्रतिनिधित्व हुने गरी एक समिति बनाउने समेत निर्णय गरेको छ । धरौटी बढाउने प्रस्ताव फिर्ता लिन विभिन्न खालका दवावका कार्यक्रम गर्ने पनि संघले निर्णय गरेको छ । यसका लागि विभिन्न राजनीतिक दल, प्रधानमन्त्री र मन्त्रीलाई दवाव दिने निर्णय संघले गरेको छ ।
सेवा शुल्क वृद्धि, दूतावास प्रमाणिकरण र श्रम सम्झौताको विषयमा समेत व्यवसायीले सरकारको ध्यानाकर्षण गराउने भएका छन् । संघले आज गरेको निर्णय कार्यन्वयन गर्न संघले सबै सदस्य व्यवसायीलाई निर्देशन समेत दिएको छ ।
“








