पशुपति शमशेरको चेतावनीः ‘यही रबैया रहे जग हल्लिन सक्छ’

काठमाडौँ, १६ साउनः  सरकारले लगाएको कर तथा अन्तः शुल्क तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) ले आज माइघरमा विरोध गरेको छ ।

पार्टीका अध्यक्ष पशुपति शम्शेर जवराले सरकारले हालै विभिन्न शीर्षकमा वृद्धि गरेको कर तथा अन्तःशुल्क अविलम्ब फिर्ता गर्नुपर्ने बताए । उनले भने, ‘जनतालाई दबाउनकै लागि सरकारले चर्काे मूल्यवृद्धि तथा करको दायरा राखेको छ, त्यसलाई तत्काल खारेज गरिनुपर्छ ।’ सरकारले आफ्नो माग पूरा नगरे पार्टी आन्दोलनमा उत्रने उनले बताए ।

उनले आफू राणा प्रधानमन्त्री मोहनशम्शेरको नाति भएको स्मरण गर्दै फेरि देशमा श्री ३ को सरकार आएको दावी गरे । ‘म मोहन सम्शेरको नाति दाबाका साथ भन्छु यो देशमा बल्ल श्री ३ आयो’ उनले भने ।

जनतालाई समृद्धिको सपना देखाएर भोट बटुलेको सरकार जनमत विरुद्ध लागेको आरोप लगाउँदै अध्यक्ष राणाले अहिलेकै रबैया रहे केपी शर्मा ओली नेतृत्वमा रहेको कम्युनिस्ट सरकारको जग हल्लिने चेतावनी दिए ।

‘हामी सरकार फेर्नका निम्ति सडकमा आएका होइनौं’ अध्यक्ष राणाले भने,’यही रबैया रहृयो भने जग हल्लिन सक्छ । हामी त्यो ढंगले अघि बढछौं ।’

उनले संसदीय सुनुवाई समितिबाट प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्नुपर्ने माग गरे उनले स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न प्रकारका कर वृद्धिले जनताको जीवन शैलीमा नकारात्मक प्रभाव पार्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग समेत राखेका छन् ।

मुलुकको विकास, समृद्धि शान्ति तथा सुशासनका लागि सरकारले जनादेश प्राप्त गरेको भएपनि सरकार त्यसतर्फ संवेदनशील नभएको विचार व्यक्त गर्दै उनले महंगी, भ्रष्टाचार नियन्त्रण गरी जनजीविकाको सवालमा गम्भीर बन्न सरकारलाई आग्रह समेत गरेका छन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोेहराले बाम गठबन्धनले अराजक रुपमा सरकार चलाएको आरोप लगाए । ‘राजाको जस्तो एकलौटी ढंगबाट अहिलेको सरकार अघि बढिरहेको छ ।’ उनले भने ।

सरकारले आफैं दिपक बोहोरालाई प्रधानन्यायाधिसको रुपमा चयन गरेर आफैंले उनको नक्कली सर्टिफिकेट छ भन्ने लज्जास्पद रहेको धारणा व्यक्त गर्दै आगामी चुनावमा आफ्नो पार्टी तेस्रो ठूलो दलको रुपमा विकास हुने बताए । सरकारले उखान टुक्काबाट मात्र देश नचल्ने बोहोराले बताएका छन् ।

राप्रपाका अर्का उपध्यक्ष केशरबहादुर विष्टले सरकारले देशमा शान्ति सुरक्षा र प्रशासनिक सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै अहिले संवैधानिक निकायमा अनावश्यक हस्तक्षेप नगर्न दिएका छन् ।

महिलाको संयमतामाथि धावा बोल्ने कानून मन्त्री शेरबहादुर तामाङलाई पदबाट राजीनामा मात्र नभई कडाभन्दा कडा सजाय दिनुपर्ने उनको माग छ ।

महामन्त्री राजाराम श्रेष्ठले यही साउनभित्र प्रादेशिक स्तरमा सम्मेलन सम्पन्न गरी संगठन सुदृढिकरणलाई तिव्रता दिइने जानकारी दिए । पार्टीका नेता राजेन्द्र गुरुङ, महिला संगठनका संयोजक कमला शर्मा, सहप्रवक्ता किरण गिरीलगायतले अहिले कालो बजारीले गरिरहेको मूल्य वृद्धिले जनताको ढाड सेकेको हुँदा त्यसतर्फ नियमन गरी ठगी गर्नेलाई सरकारले दण्डित गर्नुपर्नेमा जोड दिएका छन् ।

विरोध सभामा राप्रपाका भक्तपुर, ललितपुर र काठमाडौँका कार्यकर्ताहरुको सयौंको संख्यामा उपस्थित रहेको थियो । कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा लगायत दिनानुदिन महिलामाथि हुँदै गएको बलात्कारको घटनालाई सरकारले गम्भिरताका साथ नलिएको आरोप समेत लगाएका थिए ।

      

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *