चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग, भेटियो ३२ वटा नक्कली खाता

न्यूयोर्क, साउन १६ । अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ ।

मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको पाइएको छ, र यसलाई हटाइएको छ किनभने यिनीहरुमा “नियोजित” र “अनाधिकृत” राजनीतिक व्यवहार झल्कने सामग्री राखिएको थियो ।

तर यी ठेगानमा कम्तीमा वासिङटनका अधिकारीहरु जोडिएको पाइन्न । झण्डै ३००,००० मानिसले यी प्रतिबन्धित खातासँग आफूलाई आबद्ध गराएको पाइन्छ र प्रचारित सामग्रीमा मानिसले अभिरुचि देखाएका छन् ।

“यो त बिल्कुलै हाम्रो लोकतन्त्रमाथि आक्रमण हो,” सिनेट जासूसी समितिमा डेमोक्राट पार्टीका तर्फबाट भर्जिनियाका सांसद मार्क वार्नरले बताए । यस विषयमा फेसबुकले सिनेट कमिटीलाई पहिल्यै जानकारी गराएको थियो । वार्नरको विचारमा यस आक्रमणमा रुसको मुख्य भूमिका रहेको छ ।

सिनेट न्यायिक समितिका अध्यक्ष चक ग्रास्लेका एकजना प्रवक्ताले रुसीहरुको एउटा समूहले फेसबुकको प्रयोगमार्फत गलत सन्देश फैलाउन खोजको जानकारी प्राप्त भएको बताए । फेसबुक खाता बन्द गरिएका यी समूहहरु राजनीतिक प्रेरित रहेको उनले बताए ।

डिजिटल फोरेन्सिक रिसर्च ल्याबमा कार्यरत बेन निम्मो र ग्राहम ब्रुकीले ब्लग पोस्टमा लेख्दै पहिचान गरिएका ती खाताहरुले अमेरिकी नागरिकबीच विभाजन ल्याउन र एकअर्काविरुद्ध लड्न प्रोत्साहित गरेको बताए । गैरनाफामूलक यो ल्याबले फेसबुकबाट प्रदान गरिने सेवाको दुरुपयोग सम्बन्धी विश्लेषण गर्दछ ।

क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्राट सांसद एडम सिफले मध्यावधि निर्वाचन अघि अझ बढी काम गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । उनले भने, “विदेशी तत्वहरुले सन् २०१६ चुनावताका प्रयोग गरेकैजस्तो विधि यसपटक अपनाउन थालेका छन् । उनीहरुले हामीलाई राजनीतिक र वैचारिक दृष्टिकोणबाट विभाजित गरिरहेका छन् ।”

संसदीय जासूसी समितिले सेप्टेम्बरमा फेसबुकका प्रमुख सञ्चालन अधिकृत सेरिल स्यान्डबर्ग, ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्से र गुगलका अधिकारीसँग संसदीय सुनुवाई गर्ने योजना बनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपका सन्दर्भमा मिश्रित प्रतिक्रिया दिएका छन् । आगामी चुनावमा त्यस्तो हस्तक्षेपको सम्भावना छ त भनी गत साता सोधिएको प्रश्नमा ट्रम्पले मध्यावधि चुनावलाई लक्षित गर्ने सम्भावना रहेको ट्विटमार्फत जानकारी दिएका छन् ।

मङ्गलबार मात्र ह्वाइटहासका प्रवक्ता होगान गिड्लेले राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा कुनै पनि राष्ट्र, राज्य वा अरु कुनै खराब तत्वले हस्तक्षेप गरेमा त्यसलाई अमेरिकी प्रशासनले सहन नसक्ने स्पष्ट गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *