मड्रिडलाई हराउदै म्यानचेस्टरकाे च्याम्पियन्स कप फुटबलमा जित

“
काठमाडाैं, साउन १६ । ईङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा जित निकालेको छ । बुधबार बिहान भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल मड्रिडलाई २ – १ गोल अन्तरले हराएको हो ।
अमेरिकामा भएको खेलमा युनाइटेडलाई जित दिलाउन एलेक्सिस सान्चेज र एण्डर हरेराले एक एक गोल गरे । रियलका करीम बेन्जिमाले एक गोल फर्काए ।
फ्लोरिडामा खेलको १८ औं मिनेटमा सान्चेजको गोलबाट युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो । २७ औं मिनेटमा हरेराले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । खेलको ४५ औं मिनेटमा रियलका बेन्जिमाले एक गोल गरेपछि पहिलो हाफमा युनाइटेड २ – १ ले अघि रह्यो ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल युनाइटेडले २ – १ ले आफ्नो बनायो । यो जितसंगै युनाइटेडले प्रि सिजनको सुखद अन्त्य गरेको छ । युरोपियन क्लब फुटबलको नयां सिजन सुरु अघिको तयारी गर्न युनाइटेड र रियल अमेरिका गएका थिए ।
“








