प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई स्वीकार गर्ने वा नगर्ने बारे अझै निर्णय हुन सकेन

“
काठमाडौं, साउन १६ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दैछ । जोशीको सुनुवाइ सकिएको ६ दिन वित्दा पनि उनलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने भन्ने बारेमा समितिले निर्णय गर्न सकेको छैन ।
निर्णयका लागि समितिको बैठक पाँचौ पटक आजका लागि बोलाइएको छ । दिउँसो साढे तीन बजे सिंहदरवारमा बस्ने बैठकले प्रस्तावित प्रधानन्यायाधीश जोशीको बारेमा निर्णय गर्ने समितिका सदस्य पूर्णाकुमारी सुवेदीले जानकारी दिए ।
यसअघि समितिको एउटा बैठक नेकपा र अर्को एउटा नेपाली काँग्रेसका कारण स्थगित गर्नुपरेको जानकारी दिँदै सुवेदीले जोशीका बारेमा केही अध्ययन गर्न बाँकी रहेका कारण बैठक लम्बिएको बताए । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा २०६३ को अन्तरिम संविधान लागु भएदेखि सुरु भएको संसदीय सुनुवाईमध्ये यो नै हालसम्मको लामो सुनुवाइ प्रक्रिया भएको छ ।
यसअघि सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने परम्परा थियो । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश रहेका जोशीको एसएलसीको प्रमाणपत्र, उनले गरेका फैसला र आदेशबारे संसदीय सुनुवाइ समितिमा सत्ताधारी दल नेकपाले प्रश्न गर्दै अनुमोदन गर्ननहुने अडान लिँदै आएको छ ।
प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सांसद्ले प्रधानमन्त्री, सभामुख लगायत सदस्य रहेको संवैधानिक परिषद्ले जोशीलाई प्रधान न्यायाधीशमा सिफारिस गरेकाले अनुमोदन नगर्दा राम्रो सन्देश नजाने तर्क गर्दै आएको छ ।
१५ सदस्यीय सुनुवाइ समितिमा नेकपाका ९ सांसद छन् । दुइ तिहाइ सदस्यले प्रस्तावित नाम अस्वीकार गर्न सक्छ । संघीय समाजवादी फोरम जोड्दा समितिमा सत्तापक्षको दुइ तिहाइ बहुमत पुग्छ । समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका ४ सांसद छन् ।
“








