गजल
२०७४ जेठ १५ गते


के चिहाइ हेर्छ त्यो भगवान सधैँसधैँ
बलिमा चढ्दा पनि जवान सधैँसधैँ
सहिद र घाइते त कति भए कति
नेता गर्छ विद्रोहको आह्वान सधैँसधैँ
चिन्तै छैन दाजुभाइ परदेशमा मर्दा
धाइरहन्छ विमानस्थल बहान सधैँसधैँ
भेटिँदैन प्रकृतिमा छुवाछुत कहीँ कतै
सबको साझा हुँदोरैछ पवन सधैँसधैँ
रक्स्याहा ती लोग्नेको अत्याचार सहेर
छट्पटीमा बाँचिरहेछन् जहान सधैँसधैँ
अन्धकार बल्लतल्ल वशमा राखेपछि
मुस्कुराउँदै उठ्छ त्यो बिहान सधैँसधैँ
देशको माली जनमुखी नभएर होला
रोइरहेछ स्वदेशको उद्यान सधैँसधैँ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








