त्रिविको सेमेस्टर प्रणालीमा ढिलासुस्ती हुँदा विद्यार्थी आक्रोसित

काठमाडौँ, साउन १५ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सेमेस्टर प्रणालीअन्तर्गत स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु विश्वविद्यालयको ढिलासुस्तीका कारण आक्रोसित हुन थालेका छन् ।

केन्द्रिय विभागमा नै परीक्षा र परीक्षाको नतिजाको टुंगो नभएको विश्वविद्यालयमा अध्ययनरत छात्रा रिना बस्नेतले बताइन् ।

‘हामीभन्दा एक वर्ष अगाडि मात्र वार्षिक रुपमा पढ्ने साथीहरुको स्नातकोत्तर सकिएर पनि नतिजा आइसक्यो, तर हाम्रोे दोस्रो सेमेस्टर समेत सकिएको छैन,’ उनले थपिन्, ‘यस्तो पाराले त पाँच वर्षमा पनि पढाइ सकिने छाँटकाँट छैन ।’

देशकै ठूलो विश्वविद्यालय भएर पनि सेमेस्टर प्रणालीलाई व्यवस्थित गर्न नसक्नु राज्यकै कमजोरी भएको बस्नेतको आरोप छ ।

सेमेस्टर प्रणालीमा अध्ययनरत विद्यार्थीहरुले समयको व्यवस्थापनको अभावका कारण बीचमा नै पढाइ छाड्न बाध्य छन् ।

विश्वविद्यालयमा नै अध्ययनरत अर्का विद्यार्थी विष्णु तामाङ पनि सेमेस्टर प्रणालीका कारण काम र पढाइलाई सँगै लिएर जान असहज भएको बताउँछन् ।

उनी भन्छन्, ‘टियुमा वार्षिक प्रणालीमा जस्तो काम गर्दै पढ्ने वातावरण नै छैन,’ उनले थपे, ‘टियुले बिना अनुसन्धान नै सेमेस्टर प्रणाली लागू गरेको छ जसका कारण व्यवस्थापनमा समस्या आएको हो ।’

डिपार्टमेन्ट भन्छ : सेमेस्टर प्रणालीमा विद्यार्थी नै जिम्मेवार हुनुपर्छ

सेमेस्टर प्रणाली विद्यार्थीलाई जिम्मेवार भई पढ्नका लागि बनाइएको त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरन्जिवी खनाल बताउँछन् ।

स्नातकोत्तर तहमा लिखित र प्राक्टिकल दुवैमा विद्यार्थीले ध्यान पु¥याउन सके विद्याथीहरु अनुत्तिर्ण हुने सम्भावना कम हुने उनले बताए । ‘सेमेस्टर प्रणालीमा अंग्रेजी राम्रो छैन भने त्यसलाई विद्यार्थीले नै सुधार गर्नु आवश्यक हुन्छ ।’ उनले भने ।

सेमेस्टर प्रणालीमा अध्ययनरत विद्यार्थीलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सहज हुने उनले बताए ।

अन्तर्राष्ट्रिय रुपमा २४ घण्टाभित्रै नतिजा प्रकाशन गर्नुपर्ने व्यवस्था

सेमेस्टर प्रणालीको व्यवस्थाअनुसार विद्यार्थीले परीक्षा दिएको २४ घण्टाभित्रै नतिजा प्रकाशन गरिसक्नुपर्ने हुन्छ । तर नेपालमा भने परीक्षा दिएको तीन महिनामा पनि नतिजा प्रकाशन गरिँदैन ।

अन्य मुलुकमा समयमा नै नतिजा प्रकाशन नभए विद्यार्थीहरु एकजुट भई आन्दोलन गर्ने गरेको देखिन्छ । तर हजारौं विद्यार्थी अध्ययन गर्ने टियुमा समयमा नतिजा प्रकाशन नगर्दा पनि विद्यार्थीहरु चुपचाप बस्ने गरेको अवस्था छ ।

चुनावमा मात्र क्रियाशिल हुन्छन् विद्यार्थी संगठन

विद्यार्थीका समस्याका विषयमा चुपचाप रहने विद्यार्थी संगठन चुनावमा मात्र क्रियाशिल हुने गरेको टियुमा स्नातकोत्तर तहमा केन्द्रिय विभागमा अध्ययनरत छात्र भोजराज तिवारीले बताए ।

‘त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विद्यार्थी संगठनका नारा मात्र हुन् ।’ उनले भने । टियुमा विद्यार्थीका लागि बनाइएको वार्षिक क्यालेन्डर अनुसार नचल्ने गरेको आरोप उनको छ ।

त्रिभुवन विश्वविद्यालयको शौचालयको व्यवस्थापन विद्यार्थी युनियनको हरेक पटकका नारा भए पनि त्यसको कार्यान्वयन भने हुन सकेको देखिँदैन ।

विद्यार्थीका समस्याहरु के हुन विद्यार्थी संगठन बुझ्न समेत नजाने गरेको अर्का विद्यार्थी शिवहरी घिमिरे बताउँछन् । उनी भन्छन्, ‘टियुमा विद्यार्थी संगठनको कुनै अस्तित्व छैन ।’

विद्यार्थी संगठन क्रियाशिल नभएकै कारण टियुमा ढिलासुस्ती हुने गरेको उनको आरोप छ ।

समयको व्यवस्थापन सम्बन्धित विभागले नै गर्नुपर्ने

टियुको व्यवस्थापनको जिम्मा सम्बन्धित विषयको डिपार्टमेन्टको नै रहेको उपकुलपति तिर्थ खनियाले बताए ।
परीक्षा कहिले गर्ने नतिजा कहिले प्रकाशन गर्ने भन्ने डिपार्टमेन्टले नै गर्नुपर्ने उनले जानकारी दिए ।

‘टियुमा जति विषय अन्य कुनै देशको विश्वविद्यालयमा पढाइ हुँदैन ।’ उनले थपे, ‘विषय धेरै भएको र भर्खरै मात्र नेपालमा सेमेस्टर प्रणाली लागू भएकाले व्यवस्थापनमा समस्या भएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =