काठमाडौंमा कांग्रेसको विरोध प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

“
काठमाडौँ, साउन १५ । नेपाली काँग्रेसले आज (मंगलबार) मूल्यवृद्धि तथा अनावश्यक कर लगाएको भन्दै सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ ।
सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाली काँग्रेसले देशका ७७ जिल्लाकै जिल्लामा सरकारविरुद्ध प्रदर्शन शुरु गरेको हो ।
काँग्रेसले संविधानले निर्दिष्टि गरेअनुसार सभामुख र उपसभामुख छुट्टा छुट्टै पार्टीबाट हुनुपर्ने व्यवस्थालाई अविलम्ब कार्यान्वयन गराइनुपर्ने, बालकृष्ण ढुंगेललाई आममाफी फिर्ता गराई कानुनी राज्यको प्रत्याभुति दिलाउनुपर्ने, हालै सरकारले अवैधानिक ढंगबाट लागु गरेका करहरु खारेज हुनुपर्ने, स्वतन्त्र मिडियामाथिको हस्तक्षेप बन्द हुनुपर्ने, पेट्रोलियम पदार्थलगायतका जनताका दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि घटाउनुपर्ने, साउन ९ गते चितवनमा तीन पाँग्रे सवारी चालक मजदुरमाथि भएको प्रहरी दमन एवंम गोली काण्डको विरोध गर्दै यस्ता समस्याहरुको वार्ताद्धारा समस्या समाधान गराउनु पर्ने लगायतका माग कांग्रेसले अघि सारी विरोध प्रदर्शन गरेको हो ।
काठमाडौं उपत्यका, रत्नपार्कको शान्ति बाटिकामा पनि विरोध र्याली र सभा आयोजना गरिएको छ ।
कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको हो ।
काठमाडौंमा शान्तिबाटिकाबाट दिउँसो साढे २ बजे सुरु भएको जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटिकामा आएर कोणसभामा परिणत हुने छ ।
त्यस्तै पोखरामा नेपाली कांग्रेसले सरकारविरुद्ध विरोध प्रदर्शन गरी प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्य बृद्धि फिर्ता गर लगायतका नाराहरु लगाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । नेपाली चेलीमाथि तुच्छ आरोप लगाउने कानून मन्त्री शेरबहादुर तामाङको केसमा प्रधानमन्त्री पनि जिम्मेवार भएकाले ओलीले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।
“








