एसियन गेम्सको तयारीमा रहेका पाँच फुटबल खेलाडीमाथि अनुशासनको कारवाही

काठमाडौं, साउन १५ । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकमाथि अनुशासनको कारवाही थालिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई डिस्को गएर मादक पदार्थ सेवन गरेको आरोपमा ७२ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पा तथा व्यवस्थापक बाबुकाजी बस्नेतसंग लिइएको मौखिक जवाफ चित्त नबुझेकाले ७२ घण्टाभित्र लिखित जवाफ दिन निर्देशन दिइएको एन्फा प्रवक्ता किरण राईले बताए ।

उनले लिखित जवाफ पनि चित्त नबुझे के कार्वाही गर्ने भन्नेबारे छलफल हुने बताए । खेलाडीहरुले गत शुक्रबार राति डिस्को गएर मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचना सार्वजनिक भएपछि एन्फाले स्पष्टिकरण लिएको हो ।

एन्फाले होस्टल वार्डेन टक्कर थापालाई पनि तीन दिनको समय दिएको छ । एन्फाले सेक्युरिटी कम्पनीलाई भने सात दिनको समय दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *