रोमान्टिक सम्बन्ध सुरु गर्नुअघि सोध्नुहोस् यी प्रश्न

काठमाडाैं, साउन १५ । 

शमान फ्रिम्यान–पावेल/ बीबीसी

आजकालका युवा जति चाँडो सम्बन्धमा बाँधिन्छन् त्यति नै चाँडो सम्बन्धबाट टाढिन्छन् पनि ।

यसका विभिन्न कारण छन् । तर यदि तपाईंले आफू र आफ्नो पार्टनरलाई यी १० प्रश्न सोध्नुभयो भने यसले तपाईंको भविष्य पनि खराब हुँदैन र समयको पनि बचत हुनेछ ।

सम्बन्धविच्छेदका मामलामा विशेषज्ञता राख्ने वकिल बेरोजेस फियोना शेक्लेटन र एक्सेटर विश्वविद्यालयका शिक्षाविद्का एक समूहका अनुसार सम्बन्धमा बाँधिएका जोडी गम्भीर हुनुअघि एक अर्कासँग केही प्रश्न सोध्नुपर्छ । यसले उनीहरुको सम्बन्धलाई सुधार्न मद्दत गर्छ ।

सर्वेक्षण अनुसार सफल जोडी, पारिवारिक वकिल र सम्झौता गराउनेहरुले जुन सम्बन्धमा दोस्ती र सम्मान हुन्छ,  जसले आफ्ना सबै कुरा सेयर गर्छन् त्यस्तो सम्बन्ध लामो समयसम्म टिक्ने गरेको बताउँछन् ।

शेक्लेटन, जसले पल म्याककार्टनीजस्ता थुप्रै स्टारको प्रतिनिधित्व गरेकी छिन्, का अनुसार सम्बन्धको सुरुवाती चरणमा नै यदि सहि प्रश्न सोधियो भने भविष्यमा टाउको दुखाईबाट बच्न सकिन्छ ।

शेक्लेटनले एक वकिलको रुपमा ४० भन्दा बढि सम्बन्धविच्छेद गराइसकेकी छिन् । शेक्लेटनको नजरमा लामो सम्बन्ध त्यतिबेला सफल हुन्छ जब दुई पार्टनरलाई ह्याप्पी रिलेशनशिप बनाउने सूत्रबारे थाहा हुन्छ । यसका लागि परिवारका सदस्यलाई हेरेर वा आमा–बुवाको सम्बन्धबाट पनि सिक्न सकिन्छ ।

राम्रो साथी नै राम्रो पार्टनर हुन्छः

अनुसन्धानकर्ताले विवाह भएको १० वर्षपछि  सम्बन्धविच्छेद भएका ४३ जोडीको अन्तर्वार्ता लिएका थिए । अन्य समलिङ्गी १० जोडी पनि समावेश थिए जो कम्तीमा १५ वर्षसम्म सँगै रहे ।

यहाँ यस्ता १० प्रश्न छन् जसलाई हरेक सम्बन्धको सुरुवात गर्नुपूर्व सोध्नुपर्छ ।

१. के हामी एक समान छौं ?

अनुसन्धान अनुसार धेरैजसो सफल जोडी आफ्नो सम्बन्धको सुरुवात दोस्तीबाट सुरु गर्छन् र बिस्तारै दुबैबीच घनिष्ठ सम्बन्ध बन्न थाल्छ । त्यसकारण शोधकर्ताका अनुसार सम्बन्धको सुरुवात गर्नुअघि दुबै पार्टनरले एक अर्कालाई उनीहरुको सम्बन्ध दोस्तीमा आधारित छ छैन भनेर प्रश्न गर्नुपर्छ ।

२. के हाम्रो दोस्ती निकै गहिरो छ ?

विशेषज्ञका अनुसार एक अर्काको राम्रो साथी हुँदा मुश्किल समयमा पनि सजिलै काम गर्न सकिन्छ । जो जोडी पछि अलग्गिए, उनीहरुबीच साथीको सम्बन्ध कम भएको अध्ययनमा पत्ता लाग्यो ।

३. के हाम्रो रुची उस्तै छ ?

अध्ययनका अनुसार जुन जोडीको सम्बन्ध सधैंभरी राम्रो देखिन्छ उनीहरु एकअर्कासँग सम्बन्धको मूल्य, सम्बन्धबाट आशा, आफ्ना सपना, अपेक्षालगायतका कुरा सेयर गर्ने गर्छन् ।

४. के हाम्रो अपेक्षा उचित छ ?

अध्ययनले सफल जोडीबीच विवाह र उनीहरुको सम्बन्धबारे उचित अपेक्षा भएको पायो । उनीहरुलाई थाहा थियो कि सम्बन्ध चलाउन सजिलो हुनेछैन जसका लागि उनीहरु कडा मेहनत गर्नका लागि पनि तयार थिए ।

५. के हामी पार्टनरलाई आफूभन्दा श्रेष्ठ मान्छौं ?

विशेषज्ञले सम्बन्धमा सहानुभूति राख्नु राम्रो भएको मान्छन् । तर उनीहरुको यो पनि भनाई छ कि दयाभाव हुँदा सायद प्रेम हुन समय लाग्ला तर जब प्रेम हुन्छ तब दुबैले एक–अर्कालाई आफूभन्दा श्रेष्ठ मान्नेछन् र आवश्यक पर्दा एक–अर्काका लागि जे पनि गर्न तयार हुनेछन् ।

६. के हामी दुबै आफ्नो सम्बन्ध कायम राख्नका लागि केही गर्छौं ?

जसको सम्बन्ध लामो समयदेखि चलिरहेको छ ती जोडीले दैनिक रुपमा स–साना काममा आफूले सक्नेजति सहयोग गर्छन् र रितिरिवाजमा एक अर्काको मद्दत गरिरहन्छन् ।

७. के हामी कुनै विषयमा चर्चा गर्न सक्छौं र आफ्ना समस्यालाई एक–अर्कालाई बताउन सक्छौ ?

यो निकै आवश्यक छ  । दिनभरीको आवश्यक विषयमा वा कुनै गम्भीर विषयमा कुरा गर्नका लागि तपाईंसँग पर्याप्त समय हुनुपर्छ । यसो गर्दा प्रेम थप प्रगाढ बन्ने गर्छ ।

८. के हामी मुश्किल समयमा काम गर्नका लागि प्रतिबद्ध छौं ?

स्थायी सम्बन्धका लागि कुनै पनि जोडीले समयका साथ आउने परिवर्तनका लागि प्रतिबद्ध हुन आवश्यक छ । जब मुश्किल घडीमा दुबै एक अर्काको साथमा हुन्छन् तब उनीहरु आफ्नो सम्बन्ध बलियो भएको पाउँछन् ।

९. के हामी हाम्रो मागलाई नियन्त्रण वा कम गर्न सक्छौं ?

जीवनमा यदि प्रेम गुमाउने डर, प्रेम सम्बन्ध, खराब आर्थिक स्थिती आदि जस्ता दबाब हुन्छ भने थुप्रै इच्छाको बलिदान दिनुपर्ने अनुसन्धानकर्ताले पाएका छन् । तर आफ्नो इच्छामाथि नियन्त्रण पाउनु नै सम्बन्धको जीत हो र यो सबै सम्बन्धमा आवश्यक छ ।

१०. के हामी मानिसहरुको अगाडि एक अर्कालाई साथ दिन्छौं ?

जसलाई हामी मन पराउँछौं र जोसँग हामीले जीवन बिताउने निर्णय लिन्छौं उसलाई हाम्रो परिवार र साथीले पनि मन पराओस् भन्ने सबैको चाहना हुन्छ । विशेषज्ञका अनुसार यदि कुनै जोडीले परिवार र साथीहरुको साथ पाउँछ भने उनीहरुको सम्बन्ध थप बलियो हुन्छ ।

यी सबै प्रश्नको जवाफ पाएपछि तपाईंले आफ्नो सम्बन्धमा आशा देख्नु हुन्छ कि हुँदैन त्यो निश्चित गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *