प्रधानन्यायाधीशबारे निर्णय हुन सकेन , बैठक स्थगित

“
काठमाडौं, साउन १४ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नै नगरी संसदीय सुनुवाई विशेष समितिको सोमबारको बैठक स्थगित भएको छ ।
निर्णयको लागि छलफलको क्रम नसकिएको भन्दै बैठक साउन १६ गतेसम्मको लागि स्थगित गरिएको हो ।
संसदीय सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीशको बारेमा छलफल जारी रहेकाले निर्णय हुन नसकेको जानकारी दिए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुलाई जोशीको नाम अनुमोदन नगर्न सुझाएको थियो ।
जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् ।
भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । तर, उनी विवादमा तानिएकाले प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ ।
“








