करियर निर्माणमा ध्यान दिनुपर्ने सात कुरा

“
१) नयाँ पुस्तामा देखिएकाे समस्या
नयाँ पुस्ता सुचना प्रविधिको बिकास सँगसगै हुर्किएको छ । छोटो अनि बास्तबिक समयमा देश, विदेश र आफ्नो परिवेशको समस्टिगत सुचना, जानकारी प्राप्त गर्ने र त्यसकै विश्लेषणको आधारमा आफ्नो व्यक्तिगत, सामुहिक धारणाको बिकास गरि त्यसै अनुरुप आफुलाई प्रस्तुत गर्नु एक किसिमले भन्ने हो भने अहिलेको पुस्ताको बिशेषता नै हो ।
यसरि हेर्दा, हाम्रो नयाँ नेपाली पुस्ता १६ देखि २४ बर्ष उमेर समुहको हुनु पर्छ । यो अत्यन्तै द्रुत गतिमा व्यक्तिगत तर्फ मानसिक र शारीरिक अनि सामाजिक परिबेशमा सम्पूर्ण प्रायः सुचना, जानकारीहरुमा आफ्नो पहुँच कायम गर्दै गैरहेको देखिन्छ । फलतः यस पुस्ता अत्यन्तै पठित, सु–सुचित बर्गमै पर्दछ ।
यद्यपि, धेरै कोणबाट यो पुस्ता क्षमतावान देखिएता पनि कतिपय आफ्नै जिन्दगीका साना ठुला ब्यबहारिक चुनौतीहरु सामु अलि अल्मलिए जस्तो, समस्यामा पक्ष बिपक्षलाई ठम्याउँन नसके जस्तो पक्कै देखिएकै छ । जस्तोकि भनौ साथि, भाई, परिवारमा हुने साना तिना मन–मुटाबहरुमा सम्बन्ध नै धरासायी बनाइदिने, अलिकति मनोबल घट्ने बित्तिकै आफुलाई कुलतमा समर्पण गर्ने अवस्था छ ।
२) करियर प्रति कसरी फाेकस हुने ?
टिनएज भन्ने वित्तिकै संवेदनशील उमेर हो । यो बेला उनीहरुका अगाडी आफ्नो करियर कसरी अगाडी बढाउने ? भन्ने प्रश्न उठेको हुन्छ । यहिबेला विद्यार्थीमा शारिरीक विकासले मनोरञ्जनमा ध्यान दिने, साथीभाईको लहलहैमा लाग्दा गलत संगतमा पर्ने संभावना बढि हुन्छ । उनीहरु आफ्नो भन्दा पनि साथीभाईको निर्णयमा अगाडी बढ्न रुचाउँछन् । अभिभावकले पनि विद्यार्थीलाई राम्ररी गाइड गर्न नसकेको अवस्थामा विद्यार्थी गलत ट्रयाकमा जान सक्छन् ।
यस्तो बेला विद्यार्थीले सकेसम्म अभिभावकको कुरालाई ध्यान दिने, अभिभावकले पनि साथीभाईको जस्तो ब्यवहार गरेर काउन्सेलिङ गर्ने काम गर्नुपर्दछ । यहाँ कलेजका शिक्षकको पनि सकारात्मक भूमिका हुनुपर्दछ । खासगरी विद्यार्थीले आफ्नो बेस्ट शिक्षकलाई मनको कुरा भन्ने, आफ्ना समस्या सुनाउँदा गलत ट्रयाकमा जाने संभावना कम हुन्छ ।
यहि उमेरमा उच्च शिक्षाका लागि धेरै विद्यार्थी विदेश जाने सोच बनाईरहेका हुन्छन् तिनलाई सहि दिशा निर्देश गर्ने भूमिका काउन्सलरहरुको हुन्छ । उनीहरुले विद्यार्थीको मनोभावना बुझेर सहि र सत्य तथ्य विषय बस्तुलाई बुझाएको खण्डमा विद्यार्थी आफ्नो करियर प्रति फोकस हुन सक्छन् ।
३) विषय छनौटकाे द्विविधालाई कम गर्ने उपाय
Abroad Study मा जाने विद्यार्थीमा विषय छनोट महत्वपूर्ण कुरा हो । यो विद्यार्थीको मनोविज्ञानको कुरा हो । कुनै काम गरिरहेको छ, तर त्यो भन्दा राम्रो ठाउँमा जानु र अगाडी बढ्नु मानवीय गुण नै हो । विद्यार्थीले आफ्नो सर्कल र समुदायमा जतिकुरा सिकेका हुन्छन् ती सिमित हुन्छन् । उसलाई सहि सल्लाह दिने मान्छेको अभावमा विद्यार्थीमा द्विविधा हुन्छ ।
यसलाई हल गर्न विद्यार्थीले धेरै भन्दा धेरै सुचना बटुल्ने, त्यसको आधारमा कसरी अगाडी बढने निर्णय गर्नुपर्छ । जुन विषय रोज्दा भविष्य उज्वल हुन्छ त्यसमा विभिन्न विज्ञ र काउन्सलरबाट समेत परामर्श लिएर अगाडी बढ्नु आवश्यक छ ।
४) विद्यार्थीकाे सपनामा अभिभाबककाे भूमिका
यो बडो गम्भिर कुरा हो । विद्यार्थीको चाहना एउटा हुन्छ, अभिभावकको चाहना अर्को, यसमा विद्यार्थीको रुचि र विषयलाई अध्ययन गरेर एउटा राम्रो काउन्सलरले परामर्श दिन सक्नुपर्छ । भने, अभिभावकले आफ्नो रुचि भन्दापनि विद्यार्थीले विद्यालयमा कुन विषय अध्ययन गरेको छ, त्यसको आधारमा उसले कस्तो विषय अध्ययन गर्न खोजिरहेको छ । त्यो विषय नेपालमा वा विदेश कहाँ राम्रो छ, त्यसले विद्यार्थीको जिवनमा कत्तिको फाइदा पुग्छ बुझ्न आवश्यक छ । विद्यार्थीले पनि आफ्नो चाहना र रुचिलाई सहज रुपमा अभिभावकलाई बुझाएर करियर प्रति फोकस भएर निर्णय गर्न जरुरी छ ।
५) मानसिक विचलनलार्इ कसरी हल गर्ने ?
Abroad Study भन्ने वित्तिकै विदेश स्थित शिक्षण संस्थामा गएर अध्ययन पुरा गर्ने भन्ने बुुझिन्छ । त्यो अवस्थामा विद्यार्थीको भर्ना प्रक्रिया, भिजा प्रक्रिया सबै पुरा गरिसकेपछि त्यहाँ गएर अध्ययन गर्दा आइपर्ने समस्यालाई हल गर्नका लागि विद्यार्थी आफैंमा पनि आत्मविस्वास हुन जरुरी छ ।
आफुसँग भएको क्षमतालाई उपयोग गर्दै त्यहाँको वातावरणमा घुलमिल हुन सक्नुपर्दछ । परिस्थिति अनुसार आफुलाई ढाल्दै समस्यासँग जुध्दै अगाडी बढेको खण्डमा उ सफल हुन्छ । यसका लागि विद्यार्थीले आफ्नो पढाईको बानीलाई सुधार्ने, समयलाई ब्यवस्थापन गर्ने बानी गर्नुपर्दछ ।
सुरुसुरुमा विद्यार्थीलाई त्यहाँको समय, वातावरण र परिवर्तित शिक्षण पद्दतिमा घुलमिल हुँदा गाह्रो हुन्छ, त्यस्तो बेलामा उनीहरु हतोत्साहित हुनुहुन्न । जसरी पनि सक्छु, मेरो उद्देश्य यो हो भनेर आत्मविस्वास जगाउनु पर्दछ । नेपालमा परिवारको रेखदेखमा बसेको विद्यार्थी विदेशमा एक्लो हुँदा उनीहरुमा होमसिक हुने संभावना हुन्छ, त्यस्तो बेलामा उनीहरुले बढिभन्दा बढि साथीभाईहरुसँग समय ब्यतित गर्ने, सामुहिक अध्ययनमा जोड दिने गर्नुपर्दछ ।
कतिपय विश्वविद्यालयहरुले विदेशी विद्यार्थीलाई सहजताका लागि हेल्प डेक्स पनि राखेका हुन्छन् त्यहाँ गएर निर्धक्क साथ कुरा राख्दा सहज हुन्छ । आफु गएको कन्सल्टेन्सीसँग पनि त्यहाँ आइपरेका समस्या शेयर गर्दा उनीहरुले पनि परामर्श दिन सक्छन् ।
६) सफल विद्यार्थी र सफल ब्यक्तित्व बन्न ध्यान दिनुपर्ने कुरा
सफल विद्यार्थी र सफल ब्यक्तित्व अत्यन्तै महत्वपूर्ण कुरा हो । शैक्षिक प्रमाणपत्रमा उच्च स्कोर ल्याएका विद्यार्थीलाई मात्रै सफल भन्न मिल्दैन । विद्यार्थी तबमात्र सफल हुन्छ, जब उसले हासिल गरेको ज्ञान र सिपलाई ब्यवहारमा उतार्न सक्छ, जिवनमा लागू गर्न सक्छ, अनी परिवार समाज र देशका लागि प्रयोग गर्नसक्छ ।
हुन त सफल विद्यार्थी हुनु भनेकै सफल ब्यक्ति हुनु हो भन्ने कुरा पनि त्यत्ति ठिक नहोला । विद्यार्थी जिवनमा असफलता भोगेकाहरु जिवनमा सफल बनेका उदाहरण हाम्रै नेपालमा छन् । त्यसकारण सफल ब्यक्तित्व हुन अध्ययन गर्नुपर्छ भन्ने पनि छैन र अध्ययन नगरीकन सफल ब्यक्ति हुन्छु भन्ने पनि हुँदैन । ब्यवहारिक जिवनमा उसले कसरी अध्ययन गरेको कुरालाई लागू गरेको छ, उसले गरेको संघर्ष र सफलताले समाज, राष्ट्र र परिवारलाई कत्तिको फाइदा पुगेको छ त्यसले निर्धारण गर्ने कुरा हो ।
७) अभिभावक, शिक्षक र काउन्सलरले खेल्नुपर्ने भुमिका
घरमा अभिभावकले विद्यार्थीलाई सहि संस्कार र सहि वातावरण दिनुपर्दछ । उसका जायज मागलाई संवोधन गर्ने, नाजायज कुरालाई निरुत्साहित गर्ने र साथीभाईको जस्तै ब्यवहार गरी काउन्सेलिङ गर्नुपर्छ । विद्यालयमा शिक्षकले विद्यार्थीलाई सबैभन्दा बढि सजेस्ट गर्नुपर्छ । विद्यार्थीलाई निर्णय गर्ने अधिकार दिनुभन्दा पनि उसको मनमा भएका कुराहरु र उसका अप्सनहरुमा सल्लाह गरेर बढ्नका लािग निर्णय गर्नुपर्दछ ।
काउन्सलरको भूमिकाको कुरा गर्दा उसले Abroad Study मा जाने विद्यार्थीलाई आफुसँग भएका सहि सत्य तथ्य सुचनाहरु नलुकाई दिनुपर्दछ । अहिले विद्यार्थीकालाई Abroad Study का लागि लाखौं खर्च गरेका छन् । विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमा आएर परिवारसँग बस्छन् भन्ने आस गरेका हुन्छन्, त्यो भइरहेको छैन । विदेश गएका धेरै विद्यार्थीहरु त्यहीँको वातावरणमा घुलमिल हुँदा अहिले धेरै अभिभावकहरु एक्लिने परिस्थिति सृजना भएको छ । अब अभिभावकले विद्यार्थीलाई Abroad Study मा पठाउनु अगाडी यो कुरामा पनि ध्यान दिन जरुरी छ ।
“








