प्रचण्ड र चिनियाँ उपविदेश मन्त्री वाङबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ, साउन १४ । प्रचण्ड निवास खुमलटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच सोमबार बिहान भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल र चिनियाँ उपविदेश मन्त्री वाजुनबीचको भेटवार्तामा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको भन्दै नेपालको आर्थिक विकासमा चीन सरकारबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन गरेको उल्लेख गरे ।

नेपाल–चीन सम्बन्ध थप विस्तारका लागि अहिले उपयुक्त समय भएको वाङले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई चीन भ्रमणको निम्तो दिँदै  वाङले दुई कम्युनिस्ट पार्टीबीच एकता भएको र स्थायी सरकार बनेकोमा खुसी व्यक्त गरेका थिए । उनले नेपालले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले कनेक्टिभिटीको कुरा सबैभन्दा पहिले आफूले उठाएको र अहिले त्यो कार्यान्वयनको चरणमा रहेकाले खुसी लागेको बताए । प्रचण्डको भनाइ उद्धृत गर्दैै उनको सचिवालयले भनेको छ, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुसी लागेको छ ।’

उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभका लागि चौतर्फी वातावरण तयार भएको उनले जानकारी गराएका थिए ।

वाङले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *