साउदीको जेलबाट मुक्ति पाएका लिम्बुको घर आउने बाटो खुल्दै, ब्लडमनि जुटाउने अभियानमा पिएनसिसी

काठमाडौँ, साउन १४ । साउदीको जेलबाट मुक्त भएपनि नेपाल आउन नपाएका झापाका प्रशान्त लिम्बुको उद्धार हुने भएको छ । प्रवासी नेपाली समन्वय समिति पिएनसिसीले लिम्बुले तिर्नु पर्ने ब्लडमनि वापतको रकम जुटाउन अभियान चलाउने भएको हो ।

लिम्वुले चलाएको गाडी दुर्घटना हुँदा साउदीका नागरिकको ज्यान गएपछि २ लाख ४० हजार रियाल ब्लडमनि अदालतले तोकेको छ । त्यसमध्ये आधा कम्पनीले र आधा उनले तिर्नु पर्ने फैसला भएको छ । उनले चलाएको गाडिमा साउदीका नागरिकले चलाएको कार ठोक्किँदा कार चालकको ज्यान गएको थियो । लगतै उनलाई प्रहरीले पक्रेको थियो ।

तर फैसलासँगै ६ महिना अघि जेलबाट मुक्त भएपनि प्रशान्तलाई ब्लडमनि नतिरी नेपाल फर्किने अनुमति छैन ।

यसअघि पिएनसीसीकै पहलमा साउदीबाटै नवलपरासीका थानेश्वर भुसालको उद्धार गरिएको थियो । उनले तिर्नु पर्ने ब्लडमनि वापतको झण्डै ४५ लाख रुपैयाँ जुटाउन पिएनसीसी, एनआरएन लगायत देश विदेमा रहेका विभिन्न संघसंस्था मार्फत नेपालीले सहयोग गरेपछि भुसाल नेपाल फर्किसकेका छन् ।

भुसालको उद्धारपछि पिएनसिसीले प्रशान्तको उद्धारका लागि आवश्यक ब्लडमनि जुटाउन अभियान चलाउने भएको हो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न लागिएको संस्थाका अध्यक्ष कुल प्रसाद कार्कीले जानकारी दिए ।

प्रशान्तका बुबा उदयसिंह लिम्बुले पिएनसिसीमा आएर छोराको उद्धारका लागि सहयोग गर्न समेत आग्रह गरेका छन् । प्रशान्त भने अहिले साथीहरुको सहयोगमा बसिरहेका छन् ।

रोजगारको क्रममा साउदी अरवको रियादस्थित धुर्मामा भएको सडक दुर्घटनामा प्रशान्त दोषि ठहरिएका छन् । उनलाई करिब ३६ लाख रुपैयाँ ब्लडमनि तिर्नु पर्ने फैसला भएको पिएनसिसीले जनाएको छ । यति नै रकम कम्पनीले तिर्ने छ । प्रशान्तसँग त्यहाँको चालक अनुमति पत्र नभएपनि गाडी चलाउन लगाएका कारण कम्पनी पनि दोषी ठहरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *