नेपाली कामदार लान मलेसिया आत्तुर, विकल्प खोज्दै

काठमाडौँ, साउन १३ । नेपाली कामदार लैजाने प्रक्रियाका बारेमा सोमबार नेपाल र मलेसियाका प्रतिनिधिहरुबिच फेरि छलफल हुने भएको छ ।

अढाई महिनादेखि नेपाली कामदार रोकिएपछि तत्काल कसरी खुलाउन सकिन्छ भनेर नेपाली दूतावास मलेसियाका अधिकारीलाई त्यहाँको मानव संसाधन मन्त्रालयले छलफलका लागि बोलाएको छ ।

नेपालले मलेसिया कामदार पठाउन बन्द गरेको विषय र अबको प्रक्रियाका विषयमा दुई देशका अधिकारीहरुबिच कुरा हुनेछ । मानव संसाधन मन्त्री एम कुला सेगरनले नेपाली कामदार लामो समय नरोक्न आग्रह गर्दै यसका लागि मलेसियाले आवश्यक निर्णय लिने बताउँदै आएका छन् ।

यसअघि यहि विषयमा बुझ्न मन्त्री सेगरन नेपाली दूतावास पुगेका थिए भने गत मंगलबार पनि नेपाली दूतावासका अधिकारीहरुसँग संशोधन मन्त्रालयका अधिकारीले छलफल गरेका थिए ।

अढाई महिनादेखि कामदार पठाउन बन्द भएपछि मलेसिया कामदार लाने विकल्पमा छलफल गरिरहेको छ । नेपालले भने कामदारमाथिको अतिरिक्त शुल्क नहटाउँदा र अहिलेका संस्था खारेज नगरेसम्म नपठाउने निर्णयमा अडिग छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पटक–पटक यहि कुरा दोहोर्याउँदै आएका छन् । यसअघि भिसा लागेका कामदार समेत नपठाउने निर्णय गरेका विष्ट त्यो निर्णयबाट भने पछि हटेका थिए । जेठ २ गते पहिले नै भिसा लागेका कामदारलाई भने अन्तिम श्रम स्वीकृति खुला गरिएको छ ।

पहिलेको प्रक्रियाबाट नेपालले नपठाउने र नयाँ प्रक्रिया मलेसियाले तयार नगरीसकेकाले थप छलफल हुन लागेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *