मेडिकल सिटीको रुपमा परिचित चितवनबाटै मिर्गौला तस्करी, गिरोहका पाँच जना पक्राउ

“
चितवन, साउन १३ । मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले गिरोहका पाँच जनालाई पक्राउ गरेको छ ।
चितवनमा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले असार २५ गते बनाएको ७ जनाको टोलीले मिर्गौला तस्करी हुने गरेको तथ्य पत्ता लगाएर गिरोहको पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षका हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका–४ का ३५ वर्षका बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको बयरबनका ३४ वर्षीय दीपक लिम्बु र रसुवाको उत्तरगया गाउँपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेका छन् ।
दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको फाइदा उठाई प्रलोभनमा पारी मिर्गौला बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेका तस्करहरुले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई मिर्गौला विक्रि वितरण गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
“








