सभामुख र उपसभामुखबारे संसदमा बहस नगर्न सभामुख महराको रुलिङ

काठमाडौँ, साउन १३ । सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुख एउटै दलको भएको विषयमा बहस नगर्न रुलिङ गरेका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुख र उपसभामुखका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा सदनमा छलफल हुन नसक्ने भन्दै यस विषयमा बहस नगर्न रुलिङ गरेका हुन् ।

सांसदले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने भन्दै पटक पटक धारणा राखेपछि सभामुखले अदालतमा विचाराधीन मुद्दामाथि छलफल हुन नसक्ने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘अदालतमा विचाराधीन रहेको विषयलाई संविधानको धारा १०५ मा व्यवस्था भएअनुसार नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा न्याय निरुपणका प्रतिकूल असर पर्ने कारण यस सम्बन्धमा छलफल गर्न नमिल्ने जानकारी गराउँछु ।’ आजको बैठकमा कांग्रेसकी सांसद लक्ष्मी परियारले यो विषय उठान गरेकी थिइन्।

त्यस्तै आजको प्रतिनिधिसभाको बैठकको शून्य र विशेष समयमा बोल्दै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको विषयमा सांसदहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

सांसदहरुले कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

सांसदको मागपछि सभामुख महराले सो घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *