कोशी कटानका बिषयमा नेपाली साझा मञ्चद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

धरान, साउन १३ । १० वर्ष आगाडी सप्तकोशी नदीले गरेको महाविनाश र महाविनाशपछि भएको क्षति तथा पुनःस्थापनाको विषयमा नेपाली साझा मञ्चले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली साझा मञ्चका टोलीले प्रदेश सरकार, प्रदेश सभाका सदस्य, पत्रकार एवम् बुद्धिजिवीहरुको सहभागीतामा समिक्षात्मक अन्तरक्रियाका साथै कोशी महाविनाशमा आधारित वृत्तचित्र र फोटो प्रदर्शनी गर्ने योजनाका साथ प्रदेश सरकारसँग भेटवार्ता गरेको छ ।

टोलीले प्रदेश सरकारका सभामुख प्रदीप कुमार भण्डारी, मुख्यमन्त्री शेरधन राई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतसँग भेटवार्ता गरेको हो ।

भेटमा नेपाली साझा मञ्चका केन्द्रीय तथा सुनसरी जिल्ला टोलीले कोसी कटानपछि त्यसबेलाको सुनसरी पश्चिम कुशाह गा.वि.स. स्थित तटबन्ध भत्काएर हरिपुर, श्रीपुर र पश्चिम कुशाह गाविसलाई पूर्णरुपमा क्षति पुर्‍याएको विषयमा अवगत गराउनुका साथै लौकही, मधुवन, बसन्तपुर र घुस्की गाविसलाई आशिंक क्षति पुराएको जानकारी गराएको थियो ।

सरकारी आंकडा अनुसार सप्तकोशीको महाविनाशबाट सात हजार पाँच सय ७२ घर परिवारका ४२ हजार आठ सय नेपालीहरु विस्थापित भएका थिए भने सुनसरीको खेतियोग्य पाँच हजार पाँच सय हेक्टर जमिन बालुवामा परिणत भएको थियो ।

सप्तकोशी नदीले १२ कि.मि. कालोपत्रे सडक र १३ कि.मि. कच्ची सडक बगाउदा लामो समयसम्म यातायात अवरुद्ध हुनुका साथै दर्जनौँ विद्युतका पोल क्षतिग्रस्त हुँदा पूर्वी नेपाल महिनौँसम्म अन्धकारमा डुबेको थियो ।

नेपाल टेलिकमको अप्टिकल फाईबर बगाउँदा सञ्चार सेवाबाट समेत पूर्वेलीहरु सम्पर्क विहिन भएका थिए । त्यसबेला पूर्वी नेपाल छुट्टै राज्य जस्तो भएको थियो भने सडक यातायात अवरुद्ध हुँदा सप्तकोशी पूर्व र पश्चिम आवतजावत गर्न भारतको बाटो भएर जानु पथ्र्यो कि त ज्यान जोखिममा पारेर डुंगाको यात्रा गर्नु पर्दथ्यो । त्यो समयमा पूर्वी नेपालकै व्यापार व्यवसाय प्रायः ठप्प थियो ।

नेपालका साथै सप्तकोशी नदीले त्यसबेला भारतको विहार राज्यको १८ वटा जिल्लालाई डुबाएको थियो र बाढीबाट ३३ लाख मानिसहरु प्रभावित भएका थिए भने सयौंको मृत्यु समेत भएको थियोे ।

सप्तकोशी नदी भाद्र २ गते दिउँसो १२ बजेर ४४ मिनेटमा मानववस्तीमा प्रवेश गरी भाद्र २ गते देखि माघ १३ गतेसम्म मानववस्तीमा बगेको थियो ।

नदीलाई माघ १३ गते साँझ ६ बजेर ४० मा पुन पुरानै धारमा फर्काईएको र अहिलेसम्म पुरानै धारमा बगिरहेको समेत मञ्चले प्रदेश सरकारलाई अवगत गराएको छ ।

कोशी नदी मानव वस्तीमा १ सय ६२ दिन बग्दा नदीले त्यहाँका जनतालाई घरबार विहीन त बनायो नै सुन जस्तै धानका बाला लहराउने सुनसरीको खेती योग्य जमिनलाई भने बालुवाको मरुभूमिमा परिणत ग‍रेको थियो । हाल सो हराभरा क्षेत्र बालुवाको बगरमा परिणत भएको छ ।

साथै टोलीले राष्ट्रले गरेको सन्धि सम्झौतामा पुनः विचार गर्न र नयाँ सन्धि सम्झौतामा गम्भीरतापूर्वक राष्ट्रिय हितमा ध्यानाकर्षण गराउनुका साथै कोशी महाविनाशबाट प्रभावित क्षेत्रको विकासमा प्रदेश सरकार र प्रदेश सभासदहरुको ध्यानाकर्षण हुने समेत विश्वास लिएको छ ।

महाविनाशले पारेको आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिक, राजनैतिक, जनस्वास्थ्य, पर्यटकीय र वातावरणीय प्रभावको पुनः दृश्यावलोकन गराउनुका साथै महाविनाशका समयमा गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा सचेतना गराईने, फोटो प्रदर्शनी एवं वृत्तचित्र प्रदर्शनी र समिक्षात्मक अन्तरक्रिया गर्नुका साथै फोटो पत्रकारहरुलाई सम्मान समेत गरिने कार्यक्रमका बारेमा प्रदेश सरकारलाई जानकारी गराएका थिए ।

भेटघाटको क्रममा नेपाली साझा मञ्चका अन्र्तराष्ट्रिय सम्योजक एवम् केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ, सुनसरी सम्योजक विश्वबन्धु ताम्राकार (तमोट) सहसंयोजक लक्ष्मण थापा, सचिव सबिता राई, सदस्य भरतराज शर्मा, गणेश पौडेल, रमेश चक्र खडका, डिल्ली लिम्बु, (तुम्ब्रोक) केबश श्रेष्ठ, मञ्चका पुर्व कोषअध्यक्ष अम्बीका देबी भटटराई (श्रेष्ठ) का साथै पूर्व महासचिव मिना भट्टराई लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *