कांग्रेस घट्‌दै-घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो-प्रम ओली

काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्।

तत्कालीन एमाले र माओवादीका मजदुर संगठन जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

कांग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्नै नसुहाउने अवस्थामा पुग्ने भएकाले अहिलेदेखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको ओलीको भनाइ छ। ‘माइतीघरमा दुई सयजना मान्छे अट्लान्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यत्ति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो !’

माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने ओलीको भनाइ छ। ‘मण्डलामा आन्दोलन भएपछि त्यसको हो–हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न’, प्रधानमन्त्री ओलीले भने, ‘माइतीघरबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ।’

लोकतन्त्र ल्याउनका लागि मजदुर आन्दोलनको महत्वपूर्ण भमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘आजको अवस्थामा आइपुग्न मजदुर आन्दोलनको भूमिका महत्वपूर्ण छ’, ओलीले भने, ‘मजदुर आन्दोलनले मजदुरको जीवनमा धेरै फरक पारेको छ।’

त्यसैगरी प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डिकेट अन्त्यका लागि प्रतिवद्ध बताएका छन्। सँगै उनले आगामी दुईबर्ष भित्र काठमाडौं सडकलाई स्तरीय बन्ने दाबी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *