सरकारले देशभित्र लाउने कामको सूची तयार पार्दै

कठमाडौँ, साउन १२ । देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्ने दावी गर्दै आएको सरकारले एकहप्ता भित्रमा कामको सूची तयार पार्ने गरी कार्यदललाई जिम्मेवारी दिएको छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यदल गठन गरेको छ ।

कार्यदललाई श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिकलाई लगाउन सकिने कामको सूची तयार पार्न एक हप्ताको समय दिएको छ । कार्यदलले सिफारिस गरेको आधारमा मन्त्रालयले श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिकलाई लगाउन सकिने कामको सूची राजपत्रमा प्रकाशन गर्ने जनाएको छ ।

श्रम मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका सह-सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका चन्द्रप्रसाद ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका विश्वनाथ प्याकुरेल र विज्ञको रुपमा अधिवक्ता रमेश बडाल सदस्य रहेका छन् ।

यस्तै श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ट्रेड युनियन ऐन, २०४९ तथा बोनस ऐन, २०३० लगायत ऐनहरुमा भएका प्रावधानहरुबीच आपसमा तादात्मता मिलाउन आवश्यक भएकोले सो बमोजिम संशोधन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि भएको छ।

औद्योगिक व्यवसाय ऐन, २०७३ तथा श्रम ऐन, २०७४ का प्रावधानहरु कार्यान्वयन तथा उक्त ऐनहरुमा कुनै द्विबिधा रहे नरहेको एकीन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सम्बन्धित महाशाखा हेर्ने सह–सचिव र कानून शाखाका उप–सचिव रहेको एक समिति गठन गर्ने र समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय पनि केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *