बीपी सुन्दर बजार ठेक्कामा लगाएकाेमा ब्यापारीकाे अापत्ति, ठेक्का रद्द गर्न अाग्रह

“
साउन १२, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता बाहिर सञ्चालित बीपी सुन्दर बजार धरान उपमहानगरपालिकाले ठेक्का प्रणालीद्वारा सञ्चालनमा ल्याउने भएपछि व्यवसायीहरु आक्रोशित बनेका छन् ।
उपमहानगरपालिकाले सटर ठेक्कामा सञ्चालन गर्ने निर्णय गरेपछि सटर भाडामा लिएर ब्यवसाय गर्दै आइरहेकाहरु आन्दोलित भएका हुन् ।
७ वर्षदेखि न्यूनतम भाडा तिरेर बिचौलियाले ब्यापारीलाई लाखौंमा सटर विक्रि गर्दै आएको थाहा पाएपछि उपमहानगरपालिकाले यस वर्षदेखि ठेक्का लगाएको थियो ।
शुक्रबार त्यहाँ सञ्चालन भएका ३० वटै सटरका व्यवसायीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विरामीको सेवाका लागि खोलिएको बीपी सुन्दर बजार ठेक्काप्रथामा गएपछि सटरको भाडा बढ्ने भएकोले मारमा पर्ने बताएका छन् । ठेक्का प्रथा व्यवसायी र प्रतिष्ठानमा उपचारमा आएका विरामीको हित विपरीत भएको ब्यापारीहरुले बताएका छन् ।
उपमहानगरपालिकाले सटरको प्रकृति र साइज हेरेर ३ हजार ४ सयदेखि ४ हजार ६ सयसम्म भाडा संकलन गर्ने गरेको भएपछि केहि विचौलियाले सटर दोस्रो पक्षलाई महंगो दरमा विक्रि गर्ने गरेको पाइएकोले ठेक्कामा लगाउनु परेको महानगरपालिकाका एक अधिकृतले बताए ।
‘जसले सटर सञ्चालन गर्ने भनेर कबोल गरे उसले अरुलाई नै महंगोमा बेच्ने गरेको गुनासो आइरहेको थियो, विचौलियालाई चलखेल गर्न नदिन र सटरलाई ब्यवस्थित गर्न ठेक्का दिने निर्णय गरिएको हो ।’ उनले भने ।
नगरपालिकाले ठेक्का कबोल गर्ने दिनेश राईलाई सटरको प्रकृति हेरेर मासिक १० हजारदेखि २५ हजारसम्म मात्र भाडा उठाउन पाउने शर्त राखेको छ । ‘ठेक्कामा दिइँदा महंगो हैन, विचौलियाले अरुलाई महंगोमा बेचेर खाने बाटो बन्द हुन्छ । एउटा ब्यापारीले सटर छाडेर जाँदा अर्कोले लिँदा पनि भाडामात्र कबोल गरे हुन्छ ।’ उनले भने ।
उपमहानगरपालिकाले ठेक्का दिने वित्तिकै ठेकेदारका मानिसहरु आएर भाडा बढेको र ठेकेदारले तोकेको भाडा तिर्नुपर्छ भन्दै धम्क्याउने गरेको स्टल व्यापारीहरुले बताएका थिए । साउन १ गतेदेखि ठेक्का पारेका दिनेश राईले उपमहानगरपालिकालाई वार्षिक २७ लाख ठेक्का बुझाउनु पर्नेछ ।
अहिलेसम्म नगरपालिकालाई न्यूनतम भाडा बुझाउँदै दोस्रो पक्षलाई महंगो रेटमा सटर भाडामा लगाउँदै आएका विचौलियाहरुको कमाई खाने बाटो बन्द भएपछि उनीहरु आक्रोसित भएको ठेक्का पाएका दिनेश राईले बताए । ‘धरान उपमहानगरपालिकालाई न्यूनतम भाडा बुझाएर दोस्रो ब्यक्तिलाई महंगो रेटमा सटर बेच्नेहरुले मात्र विरोध गरेका हुन्, ठेक्का प्रणालीमा गएपछि सटर अरुलाई भाडामा लगाउन पाइन्न, यसले ब्यवसाय गर्नेलाई नै फाइदा हुन्छ ।’ उनले भने ।
राईले स्थानीय अजय राई, गोकूल राई, श्री सुब्बा, रबि पाख्रिन लगायतले सटर लिएर महंगोमा अरुलाई भाडामा लगाउने गरेको दावि गर्दै भने, ‘सटर भाडामा लिएका साना ब्यवसायीले भन्दा पनि विचौलियाको धन्धा बन्द भयो भनेर उनीहरुले विरोध गरेका हुन् ।’ राईले आफुहरुले कसैलाई नधम्क्याएको जिकिर गरे ।
विगतमा प्रतिष्ठानको हाता बाहिर जथाभावि खोलिएका पसलका कारण स्वास्थ्य उपचारका लागि बीपी प्रतिष्ठान आउने विरामीलाई समस्या भएपछि २०६८ सालबाट धरान उपमहानगरपालिकाले सो स्थानमा ब्यवस्थित बजार सञ्चालनमा ल्याएको थियो । त्यसका लागि उपमहानगरपालिकाले तत्कालिन सामाजिक विकास अधिकृत गणेश खतिवडाको संयोजकत्वमा समिति गठन गरी बजार सञ्चालनमा ल्याएको थियो ।
धरान उपमहानगरपािलकाको गत असार १६ गतेको निर्णयले सार्वजनीक टेण्डर आह्वान गरेकोमा ९ वटा कम्पनीले टेण्डर भरेका थिए । जसमा दिनेश राईको कम्पनीले सबैभन्दा बढि रकम कबोल गरेको छ ।
“








