नतिजालाई अस्वीकार गर्दै इमरानका विरोधीद्वारा पुनः चुनाव गराउन माग

काठमाडौं, साउन १२ । पाकिस्तानमा एउटा राजनीतिक दलकाे समूहले बुधबार भएको संसदीय चुनावको नतिजालाई अस्वीकार गरेको छ । उनीहरुले चुनावमा धाँधली भएको भन्दै नजिता अस्वीकार गरेका हुन् ।

शुक्रबार इस्लामाबादमा भएको बैठकमा पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज(पीएमएल–एन) का प्रतिनिधिसमेत सहभगी थिए । बीबीसीका अनुसार बैठकमा सहभागी एक नेताले नयाँ शीराबाट पुनः चुनाव हुनुपर्ने बताएका छन् ।

चुनावमा पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ(पीटीआई) सबैभन्दा ठूलो दलका रुपमा उदाएको छ भने शरीफको पार्टी दोस्रो भएको छ ।

बैठकपछि नवाज शरीफका भाइ शाहबाज शरीफले आफ्नो पार्टीले संसद बहिष्कार गर्ने फैसला गरिनसकेको बताएका छन् । यसभन्दा पहिले नवाज शरीफको पार्टीले चुनावी नतिजा स्वीकार गर्दै आफू विपक्षमा बस्ने जनाएको थियो ।
फेरि चुनाव गराउन माग

मुत्ताहिदा मजलिस–ए–अमल(एमएमए)का नेता मौलाना फजलुर रहमानले बैठकपछिको पत्रकार सम्मेलनमा फेरि चुनाव हुनुपर्ने माग राख्दै भने, ‘हामी पुनः चुनाव गराउनका लासग अभियान चलाउँछौँ । यसका लागि विरोध प्रदर्शन पनि हुनेछ ।’

चुनावी परिणामपछिको संयुक्त रणनीति बनाउनका लागि बोलाइएको बैठकमा एक दर्जन भन्दा राजनीतिक दलको सहभागिता रहेको थियो । चुनावमा तेस्रो स्थान हात पारेको पाकिस्तान पिपल्स पार्टी भने बैठकमा सहभागी थिएन ।

पाकिस्तानमा सरकार बनाउनका लागि १३७ सिट आवश्यक पर्दछ । इमरान खानको पार्टीले ११६ सिटमा जित हात पारेको छ । त्यस्तै भ्रष्टाचार मुद्धामा जेल सजाय भोगिरहेका पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पीएमएल–एन ले ६४ सिट हात पारेको छ । आउँदो पाँच वर्षका लागि पीएमएल–एन विपक्षमा बस्ने लगभग तय भएको छ । त्यस्तै बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपल्स पार्टीले ४३ सिटमा जित हात पारेको छ । प्रत्यक्ष निर्वाचित हुने २७२ सिटमध्ये अन्यमा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

पीपीपी र इमरान खानको पार्टी मिलेर सरकार बनाउने प्रबल सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *