‘मेरो देशले खाडीमा जवान पठाउँछ’

“
काठमाडौँ, साउन ११ । छिमेकीले अन्तरिक्षमा यान पठाउँछ
मेरो देशले खाडीमा जवान पठाउँछ
बिहेपछि भर्खर विदेश गएको छोरोले
आमा बिर्सन्छ श्रीमतिलाई सामान पठाउँछ
गणेश गौतमद्वारा लिखित गजल सामाजिक सञ्जालमा अहिले निकै नै प्रचलित छ । विशेष गरी नेपालको समसामयिक अवस्थालाई उजागर गर्दै गौतमले उक्त गजलको रचना गरेको पाइन्छ ।
अहिलेका युवा पुस्तामा गजलको प्रचलन र मोह बढ्दो छ । विशेष गरी समसामयिक विषयवस्तुमा आधारित भएर युवापुस्ताले गजल लेख्न थालेका छन् ।
लामो इतिहास नबोकेको गजल निकै फस्टाएको देखिन्छ । सर्वप्रथम मोतिराम भट्टले गजल लेख्न सुरु गरेको साहित्यकार घनश्याम परिश्रमी बताउँछन् ।
‘गजलले लामो इतिहास नबोके पनि यसको गति निकै प्रशंसनीय छ,’ परिश्रमी थप्छन्, ‘पहिले रहरमा मात्र गजल लेखिएको पाइन्छ ।’
बीचमा गजल लेखन रोकिएको भए पनि पछि यसको पुनर्जागरण भएको थियो । पुनर्जागरणपछि गजलमा थप फरकपना आउन थालेको पाइन्छ । सामाजिक सरोकारका विषय पुनर्जागरणपछि नै नेपाली गजलमा आउन थालेका हुन् । हाल नेपाली गजलमा विविधता समेत आउन थालेका छन् । सामाजिक सरोकारका विविध पक्षलाई समेट्न थालिएका छन् ।
गजलकार प्रकात पंगेनी यसरी गजल लेख्छन्,
हातमा समाइ उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो
वारीबाट पारीसम्म छोटो बाटो भएपनि
आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो
यस्ता श्रृंगारिक गजल पनि अहिले नेपाली युवामा निकै प्रख्यात छ । अहिले विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना गरेर गजलहरु वाचन समेत हुन थालेका छन् । यस्ता कार्यक्रमले युवालाई थप उर्जा समेत मिलेको साहित्यकार रमेश घिमिरे संघर्षशील बताउँछन् । काभ्रेको हातेमालो साहित्य संगमका अध्यक्ष समेत रहेका उनले अहिले गजल युवा पुस्तामा जान्नैपर्ने विषय भएको बताउँछन् ।
उनी भन्छन्, ‘युवालाई साहित्यबारे सिकाउन नै हामीले साहित्यिक कार्यक्रम समेत नियमित आयोजना गर्छाै ।’ गजलमा आएको विकृतिलाई हटाउन भने गजलको अस्तित्व समेत मेटिन सक्ने विज्ञहरु बताउँछन् ।
“








