डाइलगबाट हिट भए यी कलाकार र चलचित्र


“
विष्णु विश्वकर्मा, काठमाडौं । राजेश हमाल भन्नेवित्तिकै सबैको जिब्रोमा झुण्डिने एउटा अर्को नाम हो ‘महानायक’ । नेपाली चलचित्रमा अभिनय गरेका सयौँ कलाकारमध्ये राजेश हमाल मात्र एउटा यस्ता कलाकार हुनुहुन्छ । जसलाई बालकदेखि बृद्धसम्मले ‘फिल्मी डाइलग’बाटै चिन्छन । ‘हे मान्छे हुँ मान्छे । तर तँ जस्तो असुरको लागि शंकर हु म शंकर । नरपिचासका लागि नरसुम । र तँ जस्तो रक्तबीजको लागि नरदेवी, उग्रचण्डी, भद्रकाली छोरा मान्छे । शंकर हुँ शंकर ।’
दशकअघि देउती चलचित्रमा अभिनेता हमालले बोलेको यो संवाद अहिले पनि उत्तिकै चर्चित र सान्दर्भिक छ । कसैले हेप्यो, चेप्यो र सानो सम्झ्यो भने राजेश हमालकै डाइलगले प्राय मान्छेहरु आफ्नो तागत देखाउने गरी यस्तो डाइलग बोल्छन । राजेश हमालले बोल्ने यस्ता संवादले जनमानसमा एउटा अमिट छाप नै छाडेको छ । चलचित्रमा हमालले ‘हे…..’ भनेर मुड्की देखाउनसाथ खलपात्रको सातो पुत्लो उड्ने गरेको दृश्य पनि धेरै दर्शकले उहाँका दर्जनौ चलचित्रमा देखेका छन् ।
कतिपयले वास्तविक रुपमा पनि यसको प्रयोग गर्ने गर्छन । प्राय द्वन्द्व प्रधान चलचित्रका पोस्टरमा राजेश हमालको फोटो देख्नेवित्तिकै सयौँ दर्शक उहाँको चलचित्र हेर्न हलसम्म पुग्ने गर्थे । भूमिका सानो होस् या ठूलो । राजेश हमालले पनि अभिनय गरेको छ भन्ने सन्नेवित्तिकै दर्शक चलचित्र प्रदर्शन हुने हलभरी खचाखच भरिन्थे । हमालले अभिनय गरेका दर्जनाै चलचित्रमा समावेश थुप्रै डाइलगबाट उहाँले कमाएको प्रसिद्धि सायदै अरुले पाए । पृथ्वी चलचित्रको ‘साथीको लागि यो हात सलाम, दुस्मनका लागि यो हात फलाम’, खलनायक चलचित्रको ‘सज्जनका लागि नायक हुँ म, दुर्जनका लागि खलनायक हुँ म’ लगायत डाइलग अहिले पनि चर्चामा छन् ।
यस्तै डाइलगले नै राजेश हमाल महानायक बन्न सफल हुुनुभयो । चलचित्रको मेरुदण्डका रुपमा लिइने कथामा पटकथाको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ । दर्शकलाई दृश्य हेर्दा आनन्द मात्रै होइन बोलेका डाइलग सुन्दा पनि पछिसम्म याद भइरहने हुनुपर्छ । अनि मात्रै चलचित्र व्यवसायिक रुपमा सफल बन्छ भन्ने चलचित्रकर्मीको धारणा छ । ‘लगानीकर्ताले फिल्ममा लगानी गर्ने भनेकै स्क्रिप्ट र डाइलग हेरेर हो । स्क्रिप्ट राम्रो छ, त्यसमा प्रयोग हुने संवाद पनि समसामयिक छन् भने लगानी पाउन समस्या हुदैन । तर, स्क्रिप्ट र डाइलग दुबै चित्तबुझ्दो छैन भने त्यसले सफलता पाउन सक्दैन ।’ लामो समयदेखि नायक निखिल उप्रेतिसंँग काम गर्दै आउनु भएका कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले भन्नुभयो ।
चलचित्र निर्माण गर्दा चाहिने लगानी होस् या त्यसले दर्शकमाझ पार्ने प्रभाव । त्यो संवादले नै निर्धारण गर्छ । बोलीचालीको भाषालाई नै चलचित्रको संवादमा उतारेपछि त्यो दर्शकमाझ अझ लोकप्रिय हुने र दर्शक पनि चलचित्र हेर्न हलसम्म पुग्ने गर्छन । डाइलगले चलेको पशुपतिप्रसाद गत वर्षको उत्कृष्ट चलचित्रको प्राय सबैजसो अवार्ड जितेको ‘पशुपतिप्रसाद’ संवाद नै संवादले चलेको थियो । चलचित्रको ट्रेलरमै आधादर्जन बढी संवाद समेटिएको चलचित्रले करोडौँ व्यापार त ग¥यो नै । पशुपतिनाथ क्षेत्रभित्रको वास्तविकता सबै दर्शकसामु पुर्यायो ।
चलचित्रमा अभिनय गरेका र पटकथा लेखेका अभिनेता खगेन्द्र लामिछानेलाई जीवन्त कलाकारका रुपमा पनि पशुपतिप्रसादले स्थापित गरायो । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले करोडौँ व्यापार मात्र गरेन, यसमा समेटिएका हनुमानजी जस्ता शब्दले सामाजिक सञ्जाल प्रयोगकर्ताको बोलीचालीको भाषा नै बन्यो । दीपेन्द्र के खनालकै निर्देशन र खगेन्द्र लामिछानेको लेखन तथा मुख्य अभिनय रहेको हालै प्रदर्शन भएका‘धनपति’ चलचित्रले त्यति चर्चा र सफलता पाउन सकेन । जति पशुपतिप्रसादले दर्शकको मन जितेर चौतर्फी वाहवाही बटुल्यो ।
चलचित्र चल्नुका पछाडी उत्कृष्ट कथा, छायांकन, परिपक्क अभिनय भएपनि यसका डाइलग धेरैका जिब्रोमा अहिले पनि झुण्डिरहेका छन् । यसै चलचित्रबाट खगेन्द्र लामिछाने र बर्षा सिवाकोटी स्टार भएर सफलताको शिखरमै पुगे । तर, यो सफलता उनीहरुले आगामी दिनमा कत्तिको कायम गर्न सक्ने हुन ? त्यो हेर्न बाँकी नै छ । फरक विषयबस्तु, उस्तै डाइलग चलचित्रका कथा सामाजिक हुन या राजनीतिक या त माया प्रेमकै किन नहुन । तर, चलचित्रले बोल्ने संवाद भने सामाजिक परिवेशकै बढी छन् । जसले दर्शकलाई आफ्नै गाउँघरमा भए गरेका घटना र अवस्थालाई चलचित्रमा हुबहु देखेजस्तो आभास गराउँछ ।
त्यसैले चलचित्रको कथाका लागि पटकथा लेख्न गाह्रो हुने र त्यसका लागि आफुले लामो अध्ययन अनुसन्धान गर्ने गरेको लेखक तथा अभिनेता खगेन्द्र लामिछाने बताउनुहुन्छ । ‘दर्शकले खोजेको डाइलग, बोलिचालीको भाषालाई टपक्क टिपेर चलचित्रमा घुसाउन सजिलो छैन । तर लामो समय अध्ययन र अनुसन्धान गरेपछि यो सम्भव रहेछ ।’ उहाँले भन्नुभयो ‘कथाअनुसारको समाज र त्यससँग घुलमिल गरेपछि दर्शकको मन जित्न सकिने रहेछ ।’ एउटै डाइलगले चलेको ‘नाइ नभन्नु ल’ समय फेरिएसँगै चलचित्रको कथा व्यक्त गर्ने शैली र माध्यम पनि फेरियो । फेरिएको शैलीमा प्रयोग हुने संवादले चलचित्र मात्रै होइन, त्यसले दर्शकको माया र साथ पनि उत्तिकै दिलाउने पुष्टि ‘नाई नभन्नु ल’ चलचित्रले गर्छ । ‘नाई नभन्नु ल’को ‘थाहा छ एकदिन तिमीले मलाई मन पराउनेछौँ । तर भन्न ढिला नगर्नु नि । नत्र तिमीले भनौला मैले नसुनौला ।’ यही डाइलगले चलेको यो चलचित्र पछाडी जोडिने गीतको ‘नाई नभन्नु ल’ ले सबैको मन मात्रै जितेन ।
नाई नभन्नु ल २, ३ र ४ बनाएर निर्माता तथा निर्देशक विकास राज आचार्यले व्यवसायिक सफलता समेत हात पार्नुभयो । उहाँको सफलतासंगै नाइृ नभन्नु ल २ चलचित्रमा गीत गाएका प्रेम परियार रातारात स्टार हुनुभयो । यसका कलाकार अनुभव रेग्मी पनि उत्तिकै चर्चित हुनुभयो । यसै कारण पछिल्लो समय नेपाली चलचित्रको बजार क्षेत्र पनि ह्वात्तै बढेको छ । विदेशमा रहेका थुप्रै नेपाली दाजुभाई नेपाली चलचित्र माग गरेर हेर्ने र त्यसबाट संकलन भएको ठुलो रकम निर्मातालाई पठाउने गर्छन । सौगात र दयाहाङको भर्सटायल क्षमता जसका पछाडी अहिले निर्माण हुने आफ्नै मौलिक परिवेशका चलचित्र र त्यसमा प्रयोग हुने डाइलग नै हुन ।
नेपाली चलचित्र ओरालो लागेका बेला निश्चल बस्नेतले निर्माण गरेको ‘लुट’ले बजार मात्रै पिटेन, अहिलेका दुई ठुला स्टारलाई पनि व्यवसायिक सफलता दिन अब्बल साबित भयो । ‘दिमाग लगा पासा दिमाग’ भन्ने नेवारी टोनको सौगात मल्लको डाइलग हिट भयो भने सौगात र दयाहाङ राईलाई भर्सटायल कलाकारका रुपमा चलचित्रले स्थापित गर्यो । लुटकै डाइलगलाई निर्देशक निश्चत बस्नेतले ‘काठमाडौँ शहर हेर्दा लाग्छ रहर, साला गिद्धैगिद्धको शहर’ लुट २ मा राख्दा पनि उत्तिकै चर्चित बन्यो । समग्रमा यो चलचित्रले कथा मात्रै होइन अहिलेको परिवेशलाई पनि प्रतिनिधित्व गर्यो । तर लुटको सिक्वेलले लुटजति चर्चा र सफलता भने पाउन सकेन । कारण दर्शकले खोजेजस्तो फरक डाइलग नै चलचित्रमा देखिएन । शुरुका दिनमा निश्चित सुत्र र संरचनामा निर्माण हुने चलचित्रको विषयवस्तु पनि हिजोआज फेरिएको छ । पहिले चार/चार वटा गीत र द्वन्द्वका दृश्य राखेर निर्माण हुने चलचित्र अहिले गीत र द्वन्द्वविना पनि निर्माण हुन थालेका छन ।
चलचित्रकर्मीको जोड : कथा र पटकथा अर्थात डाइलगमा चलचित्रको कथा र पटकथा अनुसार लगानीकर्ताले लगानी गर्ने हुँदा पनि हिजोआज नयाँ नयाँ संवादको खोजी र त्यसको प्रयोगमा चलचित्रकर्मी लामो समय खर्च गर्नुपर्ने प्रदर्शनमा आउन लागेको रुद्र चलचित्रका लेखक तथा निर्देशक रामजी लामिछाने बताउनुहुन्छ ।‘हामीले रुद्र चलचित्रको स्क्रिप्टमा मात्रै करिब ७ महिना खर्चियौ । किनकी मुख्य कुरा भनेकै कथा अथवा स्क्रिप्ट हो । त्यसमा प्रयोग हुने डाइलग उत्कृष्ट भएन भने लगानी त डुब्छ भने दर्शकले पनि कलाकार र टिमलाई पत्याउन छाड्छ ।’ उहाँले भन्नुभयो । यस्ता अरु पनि दर्जनौ चलचित्र छन् । जुन चलचित्रका डाइलग हिट भएरै चलचित्र हिट कलाकार स्टार भएका छन ।
“
