दुर्गा प्रसाई भन्छन्: सरकारले कलेज किनिदिए अमेरिका गएर बस्छु

डा. गोविन्द केसीको माग सरकारले पुरा गर्ने सम्झौता गरेपछि एक निजी मेडिकल कलेज सञ्चालकले देश छाडेर जाने बताएका छन् । झापा स्थित विएन्डसी मेडिकल हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंले स्वदेशमा लगानीको वातावरण नभएको भन्दै विदेशिने बताएका हुन् ।
सरकारले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने र एउटा विश्वविद्यालयले ५ ओटा मात्र कलेजलाई सम्बन्धन दिनुपर्ने डा. केसीको मुख्य मागलाई संवोधन गरेपछि झापाको विएन्डसी हस्पिटल पनि प्रभावित भएको थियो ।
प्रस्तुत छ, प्रसार्इंकाे भनाई जस्ताको तस्तैः

उद्योगधन्दा खोल्ने, रोजगारी सिर्जना गर्ने मान्छेलाई माफिया भनेर लखेटेपछि यो देशमा अब उद्योगधन्दा कल कारखाना कसले खोल्छ ? सरकारले लाइसेन्स दियो, लाइसेन्स पाएपछि नेपालको संविधान कानुन मानेर बैंकबाट अरवौं रुपैयाँ ऋण लिएर हस्पिटल बनायौं । मेडिकल कलेज बनायौं । मापदण्ड पुग्दैन भने मापदण्ड बनाउन बोलाउने हो । बन्दै गर्ने होइन नि । यसरी अब यो देशमा रोजगारी सिर्जना कसले गर्छ ? अब यो देशका तीन करोड मध्ये दुई करोड विदेशमै हुन्छन् ।

  
सतिले सरापेको देश भन्थे, मैले त बुझ्न छाडें सतिले मात्रै सरापेको देश होइन । एउटा कुरा भन्यो भन्ने अर्कै कुरा बनाएर उडाउँछन् । अब देशमा उद्योगधन्दा कलकारखाना रहँदैनन् । अब गोविन्द केसी फेरि अनसन बसेर प्रधानमन्त्रीको राजिनामा माग्नु भयो भने के गर्नु हुन्छ उहाँ ? विधि र सिस्टमले चलाउने हो कि होइन ? यस्तो पनि हुन्छ कहिँ । हाम्रो काम रोकिएला हस्पिटल बन्द होला अर्को कुरा हो । तर देश त विधिले चल्नु पर्ने होइन र ?

उद्योगधन्दा खोल्ने, रोजगारी सिर्जना गर्ने मान्छेलाई माफिया भनेर लखेटेपछि यो देशमा अब उद्योगधन्दा कल कारखाना कसले खोल्छ ? 

यत्रो जनताले भोट हालेको कहाँ गयो ? सरकारलाई दुई तिहाईको दम्भ भनेर थर्काएर यस्तो निर्णय गर्न वाध्य बनाएपछि यस्तो देशमा को बस्छ ? नेपालमा केहिको पनि सुरक्षा छैन । न सम्पतिको सुरक्षा छ न ज्यानको । यो देशमा के को लागि विकास गर्नु, किन बस्नु ? आफ्नो घर जग्गा बैंकमा धितो राखेर किन उद्योध धन्दा कलकारखाना खोल्नु ?

सरकारले गोविन्द केसीसँग सहमती गर्यो आफ्नो ठाउँमा छ म त्यसलाई गल्ति गर्यो पनि भन्दिन । सरकारको कुरा हो, गोविन्द केसीको कुरा हो । तर केसीले भोलि केपी ओली बिरामी पनि हुनुहुन्छ, बुढो पनि हुनु भयो भनेर अनसन बसे भने के गर्नुहुन्छ ? हामी त रमिते भएर बस्ने मात्रै रहेछौं ।

यो कस्तो खालको सम्झौता भयो भने, जो आन्दोलनरत पक्ष हो उसका माग पूरा भए होलान् सरकारको माग पूरा भयो होलान् । तर जसले कानुन मान्यो, कानुन अनुसार लाइसेन्स लियो घरजग्गा बैंकमा राखेर ऋण लिएर जसले उद्योगधन्दा कलकारखाना खोल्यो उसका लागि यो कानुन कालो कानुन भयो ।

अब सरकारले किनिदियो भने म थपक्क बेचेर अमेरिका गएर बस्छु आनन्दसँगले । कसले लगानी गर्छ यस्तो देशमा ? के छर बस्नु नेपालमा ? काठमाडौँ हिलोले डुबेको आज २० वर्ष भैसक्यो । मेरो मेडिकल किनिदियो सरकारले भने मत इन्डिया गएर बस्छु नत्र अमेरिका ।

मेडिकल खोल्नका लागि कति लगानी परेको भन्ने प्रस्टै छ । अहिले लागेको खर्च मध्ये बैंकबाट लिएको रकमको बैंकमा रेकर्ड छ, बजारबाट पनि लिएको छु थाहा भैहाल्छ नि । अनि, जग्गाको चलनचल्तीको भाउ दिँदा भैहाल्छ नि । मेरो परेको दियो भने मलाई नाफा चाहिँदैन म त दिन्छु ।


हस्पिटल मात्रै भनेर सुरु गरेको थियो भने लगानी पनि थोरै हुन्थ्यो । हस्पिटल मात्रै भए एक विगाहा जग्गामा त्यहि अनुसार भवन बनाउँदा हुन्थ्यो । मेडिकल कलेज भनेर १७ बिगाहा जग्गा किनियो । त्यो जग्गा बेच्न पाईंदैन । त्यो १७ बिगाहामा भौतिक संरचनाहरु बनेका छन् । ३ अर्वभन्दा बढि बैंकबाट ऋण लिएर भवनहरु बनाएका छन् । अब ति सबै कुहिए कि कुहिएनन् ? त्यसको ब्याजमा हस्पिटल मात्रै चलाएर ऋण तिर्न सकिन्छ ? संसार हुनै नसक्ने कुरो यो । लागत नै तीन गुणा बढि पर्छ मेडिकल कलेजका लागि ।

पाहुना भएर आउँदा जसलाई पनि म मार्सी चामलको भात खुवाउँछु । त्यतिखेर घरमा आउनु भएको थियो अध्यक्षहरु बैठक बस्न । घरमा आएका भोका पाहुनाहरुलाई खाना खुवाएर मैले कर्तव्य पूरा गरेको हो । त्यसैलाई मार्सि चामलको भात र दुनियाँ थोक भने, ठिकै छ । नेपालीहरुको काम छैन । मार्सी चामलको भात रे, मेरो मेडिकल कलेजको सम्बन्धित कुरा नै होइन । त्यो त पार्टी एकीकरणको शिलशिलामा भएको हो । हिजो हामी सँगै जनयुद्ध लड्यौं । तर आज बोल्न हुँदैन बोल्यो भने उल्टो कुरो गर्छन् ।

आज गोविन्द केसी शक्तिशाली भए । भगवान कृष्ण पनि शक्तिशाली नै थिए । रावण पनि शक्तिशाली नै थिए । पालो आएपछि सबै शक्तिशाली हुन्छन् । सबैका पालो आउँछ आफ्नो पालोमा सबै शक्तिशाली हुने हो ।

मलाई चित्त दुखेको एउटै कुरामा छ । एक दुई वर्ष अगाडी एक जना विद्यार्थीले बंगलादेशमा आत्महत्या गरिन् । त्यतिखेरै अर्की छात्रामाथी घटना घट्यो । त्यो कुरालाई लिएर मैले बंगलादेशमा यस्ता घटना घट्छन् भनेको हो । फेसबुकमा, पत्रपत्रिकामा आइरहेका हुन्छन् । यस्तो गरिरहेको छ रे त्यहाँ । हाम्रै देशमा मेडिकल कलेज खोलेर आफ्नै देशमा पढ्ने वातावरण बनायौं । त्यस्ता घटना छानविन गरौं आयोग बनाएर भनेको कुरालाई डेढ वर्ष अगाडिको भिडियो क्लिप्स काटेर मेरो चरित्र हत्या गर्ने काम गरिएको छ । तर सत्य भनेको सत्य नै हुन्छ ।

अब कसैको घरमा चोरी भयो भने मान्छेले देखे पनि भन्दैनन् । किनकि त्यो भन्दिने मान्छेलाई नै दोष लगाएपछि कसैले भन्छ अब । मलाई पनि त्यस्तै दोष लगाइएको हो । २५ मिनेटको भिडियोबाट ६/७ मिनेटको काटेर बेइज्यत गरेर तहल्का मच्चाइदिए । महिला आयोगमा मुद्दा, मानव अधिकार आयोगमा मुद्दा । त्यस्तो पनि हुन्छ संसारमा ?

टेलिफाेन कुराकानी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *