डा. गोविन्द केसीको माग कागजमा मात्र सीमित हुँदैन– पर्यटनमन्त्री अधिकारी

“
पोखरा, साउन ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका मागहरु कागजमा मात्र सिमित नहुने बताएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको उद्धघाटन गर्दै उनले डा. केसीले उठाएका मागहरु कागजमा मात्र सीमित नराखी सरकारले कार्यान्वयन गर्ने बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘डा. केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजान्छ, विगतमा धेरैपटक सरकारको तर्फबाट डा केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको भएतापनि अब भने सम्झौतालाई व्यवहारमै लागू गरिनेछ ।’
पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा नै सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
वर्तमान सरकारलाई जनताले महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै उनले यस अवसरलाई आत्मसात गर्दै अघि बढ्न नसकेमा इतिहासमा अर्को अवसर प्राप्त नहुने हुँदा सरकार त्यही रुपमा राष्ट्रको समृद्धि र विकासका लागि क्रियाशील बनेको बताए । उक्त अवसरमा मन्त्री अधिकारीले समाजद्वारा निर्मित सूर्यचन्द्र वाटिकाको उद्घाटन गरे ।
सूर्यचन्द्र विकास समाजका अध्यक्ष गायत्री भुर्तेलले समाजले सामाजिक सेवामा आफूलाई निरन्तर क्रियाशील बनाएको बताउँदै नवनिर्मित सूर्यचन्द्र वाटिका सात लाख ५० हजारको लागतमा निर्माण सम्पन्न गरिएको जानकारी दिए ।
कार्यक्रममा समाजद्धारा सञ्चालित शहीद स्मृति पुस्तकालय, अक्षयकोष स्थापना, वाटिका निर्माण लगायतमा सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका–५ का वडाध्यक्ष धनबहादुर नेपाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ का अध्यक्ष विष्णुप्रसाद बराल, नेपाली काँग्रेसका वडासभापति फणीन्द्रराज पराजुली, डा सरोज कोइरालालगायतले सामाजिक क्षेत्रको विकासमा समाजले महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे ।
“








