उचित मूल्य नपाउँदा तरकारी खेतीमा लगानी उठ्न सकेन

काभ्रे, साउन ११ । बनेपा नगरपालिका ३ का ककप्रसाद दाहाल यो वर्ष असिनाले सबै तरकारी नष्ट गरिदिएपछि निकै चिन्तित छन् । यो वर्ष उनले ५ रोपनी जमिनमा लगाएको काउलीले बजार समेत देख्न पाएन ।

‘तरकारी खेती रोज्दा खेताला लगाएको लगानी समेत उठेन्, मलजलको त के कुरा ?’ उनले गुनासो पोखे । असिनाले बिगारेको तरकारी उखेलेर फ्याँकिदिएको उनले बताए ।

उनले भने, ‘अघिल्लो वर्ष तरकारी पनि राम्रै फलेको थियो भने भाउ पनि राम्रो थियो,’ उनले थपे, ‘यस वर्ष भाउ समेत नभएपछि लगानी उठ्ने त कुरै भएन् ।’ बाहिरबाट तरकारी आउन थालेपछि तरकारीको भाउ राम्रो नपाएको उनको ठम्याइ छ ।

तरकारीको भाउ नआएपछि दाहाल जस्तै अन्य किसान पनि तनावमा छन् । यहीँकी अर्की किसान अम्बिका सापकोटा पहिलेका वर्षमा भन्दा तरकारीको मूल्य खस्किँदै गएको बताउँछिन् । उनले भनिन्, ‘सरकारी स्तरबाट नै किसानको श्रमको मूल्यांकन हुनुपर्छ ।’

उनका अनुसार सरकारी संयन्त्र नै कमजोर हुँदा किसानलाई समस्या पर्ने गरेको हो । नेपाली बजारमा भारत लगायत अन्य मुलुकमा उत्पादित तरकारीलाई भन्दा नेपालमा उत्पादित तरकारीलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनले बताइन् ।

बनेपा नगरपालिका १, २, ३, ४ वडा साविक उग्रचण्डी र टुकुचा गाविस क्षेत्र अन्तर्गत पर्ने गर्दछन् । यहाँका मानिसको प्रमुख आयस्रोत तरकारी नै हो ।

यहाँ उत्पादित तरकारी काठमाडौँ उपत्यका लगायत नेपालको तराई क्षेत्र र भारतमा समेत पुग्ने गरेको छ । यो क्षेत्र तरकारीमा आत्मनिर्भर क्षेत्र पनि हो ।

यहाँको उग्रचण्डी तरकारी बजारमा काठमाडौँको कालीमाटीबाट निर्धारित बजार भाउकै आधारमा तरकारी खरिद–बिक्रि हुने गर्दछ ।

यस वर्ष नेपालबाट बाहिर तरकारी नगएको कारण तरकारीको मूल्यमा गिरावट आएको बजारका स्थानीय व्यापारी रामसुन्दर पराजुलीले जानकारी दिए । ‘यहाँको बजारमा जतिमा तरकारी बेचेका छौं, काठमाडौँमा पनि उति नै मूल्यमा बिक्री गर्न बाध्य छौं ।’ पराजुलीले दुखेसो पोखे ।

कालीमाटीमा आज गोडभेंलाको मूल्य प्रतिकेजी ३०, आलु २०–२५, प्याज २८–३०, काउली ५०–५५, बन्दा २०–२५ मा बिक्री भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *