डा. गोविन्द केसीको मागप्रति पूर्व स्वास्थ्यमन्त्री बोहराको ऐक्यबद्धता

साउन १०, काठमाडौं । चिकित्सा शिक्षामा देखिएका विद्यमान समस्या निराकरणका लागि सरकार गम्भिर नभएको पूर्वस्वास्थ्यमन्त्री दीपक बोहराले बताएका छन् ।

आफ्नो कार्यकालमा सत्याग्रहरत चिकित्सक डा. गोविन्द केसीका मुद्दालाई प्राथमिकताका साथ अगाडी सारेर चिकित्सा शिक्षा विधेयक मन्त्रिपरिषद्बाट पारित गराउन सफल भएका बोहराले बर्तमान सरकारले उक्त विधेयक तोडमोड गरेर गम्भिर त्रुटी गरेको समेत बताएका छन् ।

आफु मन्त्री भएकै दिन डा. केसीको अनसनलाई तोडाउन सफल भएका पूर्वमन्त्री बोहराले बर्तमान सरकार मेडिकल माफियाको चंगुलमा फसेको भन्दै चिकित्सा शिक्षा विधेयकका मुख्य मुख्य बुँदाहरुलाई हटाएर ठूलो गल्ती गरेको जिकिर गरे । ‘गरिब जनताका छोराछोरीले निःशुल्क चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्छ भनेर एउटा सत्याग्रहीले बारम्बार अनसन बस्नु भनेको लज्जास्पद कुरा हो । डा. केसीले उठाउनु भएका सबै मागहरु पुरा गर्न सरकारलाई कुनै अफ्टेरो थिएन ।’ उनले भने ।

राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष समेत रहेका पूर्वमन्त्री बोहराले आजै डा. केसीलाई भेट गरी उनको सत्याग्रहमा ऐक्यबद्धता समेत प्रकट गरेका छन् ।

उनले भेटमा डा. केसीलाई जनताका पक्षमा गरिएको सत्याग्रहमा आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको भन्दै आफुले संसद नभएको अवस्थामा अध्यादेश मार्फत ल्याएको विधेयक अहिलेको सरकारले आफु अनुकूल परिवर्तन गरी संसदमा पेश गर्न उद्यत रहेको आरोप समेत लगाउँदै भने ‘विधेयक जनताका पक्षमा भएकोले मैले जसरी पनि पारित हुनुपर्छ भन्ने मान्यता लिएको थिएँ, बर्तमान सरकारले त्यसलाई काँटछाँट गरेर जनता प्रतिको उत्तरदायित्व विर्सेको छ ।’ उनले भने ।

साथै पूर्वमन्त्री बोहराले दुई तिहाईको सरकार गरिब तथा दुर्गम क्षेत्रका जनताका लागि संवेदनशील नभएको आरोप लगाउँदै हरेक क्षेत्रमा कर बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको जिकिर गरे । ‘सरकारले हरेक क्षेत्रमा करको दायरा बढाएको छ, सुत्केरी महिलालाई सुत्केरी भत्ता भन्दै १ हजार दिइन्छ, तर, त्यहि बच्चाको जन्मदर्ता गर्दा १२ सय तिर्नुपर्ने बाध्यता सृजना गरिदिएको छ । यो जनतालाई ललिपप देखाएर शोषण गरेको भयो ।’ उनले भने ।

बोहराले तत्काल गरिब तथा कमजोर आर्थिक अवस्था भएका जनताको आर्थिक स्तर उकास्ने खालका कार्यक्रम ल्याउन पनि सरकार समक्ष माग गरे । दुर्गम क्षेत्रका जनता अझैपनि स्वास्थ्य, शिक्षा र भोकमरीको चपेटामा परेको भन्दै ती क्षेत्रमा सरकारको बलियो उपस्थिति आवश्यक्ता भएको औल्याए ।

उनले आफ्नो कार्यकालमा गम्भिर प्रकारका रोग लागेका पिडित जनतालाई राहत दिनका लागि जिविकोपार्जन भक्ता स्वरुप मासिक ५ हजार रुपैंया दिने घोषणा गरेकोमा त्यसलाई हटाएकोमा पनि आपत्ति प्रकट गरे । साथै बोहराले सरकारले जनताका लागि राहतका कार्यक्रम नल्याए आफुहरु सडक संघर्षमा उत्रने समेत चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *