रासायनिक मल खरिद गर्न भारतसँग पाँच वर्षका लागि जी टु जी प्रस्ताव

काठमाडौँ, साउन १० । सरकारले नै रासायनिक मल खरिद गर्ने गरी सम्झौता गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ ।

आगामी पाँच वर्षका लागि रासायनिक मल आयात गर्न नेपाल र भारत सरकारबिच जी टू जी सम्झौताको प्रस्ताव गर्ने कृषि मन्त्रालयले निर्णय गरेको हो ।

वार्षिक बजेट विनियोजन अनुसार हेरफेर हुनसक्ने गरी ५ वर्षका लागि सम्झौता गर्न परराष्ट्र मन्त्रालय मार्फत अनुरोध गर्ने निर्णय भएको हो ।

कृषि विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीको संयोजकत्वमा बसेको बैठकले युरिया र डिएपी पाँच वर्षमा कुल ९ लाख ३५ हजार मेट्रिक टन खरिद गर्ने प्रस्ताव गरेको छ ।

चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी, २०७६/०७७ मा युरिया र डीएपी १ लाख ७० हजार, आव २०७७/०७८ मा १ लाख ९५ हजार मेट्रिक टन खरिद गर्ने प्रस्ताव गरेको छ ।

यस्तै आव २०७८/०७९ मा २ लाख १० हजार र २०७९/०८० मा २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न प्रस्ताव गरिएको वरिष्ठ कृषि अर्थविज्ञ डा. रुद्रबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *