प्रदेश ५ प्रदेशसभाका छ वटै संसदीय समितिका सभापति निर्विरोध चयन

बुटवल, साउन १० । प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् ।  मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक, एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।

सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा नेकपाकै आशा स्वर्णकार बुधबार निर्विरोध चयन भएका छन् ।

त्यस्तै मनोनयन दर्तामा एक, एक जनाको मात्रै मनोनयन दर्ता भएपछि प्रदेश मामिला तथा कानून समितिमा नेकपाकै दामाकुमारी शर्मा, सामाजिक विकास समितिमा दीर्घनारायण पाण्डे र कृषि वन तथा वातावरण समितिमा संघीय समाजवादी फोरमका विजयबहादुर यादव निर्विरोध भएका छन् ।

प्रदेशसभाले यसअघि चार समिति रहने व्यवस्था गरेकोमा नियमावली संशोधन गर्दै छ समिति बनाउने निर्णय गरेको थियो । छ समितिमध्ये काँग्रेस र संघीय समाजवादी फोरमले एक, एक र नेकपाले चार समितिको सभापति लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *