डा. केसीकाे अनसनकाे अाज २७ औँ दिन, स्वास्थ्य अवस्था कमजोर बन्दै

काठमाडौं, साउन १० । चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध असार १६ देखि जुम्लाबाट अनशन शुरू गरेका डाक्टर गाेविन्द केसी १६ औं पटक अनसन बसेकाे अाज २७ दिन भएकाे छ । जुम्लामा अनसन सुरु गरेका डा केसीलाई गएको बिहीबार सरकारले काठमाडौं ल्याएको थियो।   २७ दिन देखिको अनसनका कारण डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डाक्टरले बताएका छन् ।

उनले बुधबार बान्ता गरेको र बेलाबेला बेहोस पनि हुन थालेको र स्वास्थ्य अवस्था धेरै नै विग्रिसकेको उनको रेखदेख गरिरहेका डाक्टरको भनाई छ । स्वास्थ्य अवस्था अत्यन्तै कमजोर हुँदा पनि डाक्टर केसीले अझै पनि उपचार गराउन मान्नु भएको छैन । कुनै व्यक्तिले उपचार गराउन अस्विकार गर्दा गर्दै उपचार दिनु चिकित्साशास्त्रको मान्यता विपरित हुने भएकाले जवरजस्ती उपचार गराउन नमिल्ने आवासीय डाक्टरले बताएका छन् ।

उनीहरुले डाक्टर केसीको मागलाई केही राजनीतिक पार्टीले गलत रुपमा व्याख्या गरेको आरोप लगाएका छन् । केसीको मागलाई राजनीतिकीकरण गरेर गलत तरिकाले व्याख्या गरिन थालेको भन्दै डाक्टरले अब त्यसको प्रतिकार गर्नेपनि जनाएका छन् । केसी पक्षको वार्ता टोलीले मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा वार्तामा सहमति नभएको बताएको छ ।

बुधबारको वार्तामा डाक्टर केसी पक्षले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने  र त्यसमा थप सुधार गरि ल्याउनुपर्ने माग गरेको थियो भने सरकारी पक्षले विधेयक संसदमा दर्ता भइसकेकाले फिर्ता लिन नमिल्ने र संसदीय प्रक्रियाबाटै संशोधन गर्न सकिने अडान लिएको थियो ।

डाक्टर केसीको माग बारेमा अनौपचारिक रुपमा छलफल भैरहेको सरकारले जनाएको छ । अनौपचारिक रुपमा सहमति भएपछि मात्रै औपचारिक वार्ता गर्ने सरकारी पक्षको तयारी छ । डाक्टर केसीको मागमा समर्थन जनाउँदै आवासीय डाक्टर त्रिवि शिक्षण अस्पतालमा सामूहिक अनसन बस्ने भएका छन् ।

झण्डै एक सय जना डाक्टर अनसनमा बस्ने र माग पूरा गराउन दबाब दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ¥याली निकाल्ने तयारी भएको उनीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *