पाकिस्तानमा प्रारम्भिक नतिजा अनुसार पूर्व क्रिकेटर खानकाे अग्रता

काठमाडाैं, साउन १० ।   पाकिस्तानमा बुधबार भएको संसदीय निर्वाचनको प्रारम्भिक नतिजा अनुसार पूर्व क्रिकेटर इमरान खानले सुरुआती अग्रता प्राप्त गरेका छन् ।

पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको थियो । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । स्थानीय समय अनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो ।

राष्ट्रियसभा, संसद्को तल्लो सदन र चारवटा प्रान्तीय विधानसभाका लागि बुधबार मतदान भएको हो । पाकिस्तानमा प्रतिनिधिसभा अर्थात संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ भने त्यसमध्ये २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ ।

प्रारम्भिक नतिजा अनुसार इमरान खानको पार्टी पीटीआईले २७२ मध्ये ११३ स्थानमा अग्रता लिएको छ । भ्रष्टाचारको आरोपमा कैदजीवन बिताइरहेका पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी नेशनल मुस्लिम लिगले मतदान तथा मतगणनामा धाँदली भएको आरोप लगाएका छन् ।

यस निर्वाचनका लागि करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएकोमा करिब छ करोड पुरुष रहेको जनाइएको छ ।

जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *