सम्पादकीयः उच्च शिक्षाका नाममा विदेशिनेहरु नफर्कदाको समस्या

आजभोली खासगरी कक्षा १२ उत्तिर्ण गरिसकेपछिका किशोर–किशोरीहरुमा उच्च शिक्षाका नाममा विदेशिने लहड चलेको छ । लगभग पाँच वर्षयता उच्च शिक्षाका लागि विदेशिने युवाहरुको ग्राफ प्रत्येक वर्ष बढ्दो छ ।

एक वर्षअघि वार्षिक ५० हजारको हाराहारीमा विदेशिएका युवाहरुको संख्या यो असार मसान्तसम्ममा ७१ हजार पुगिसकेको छ । उच्च शिक्षाका लागि विदेशिने युवाहरुको संख्या प्रतिदिन बढेपनि विदेशमा उच्च शिक्षा हासिल गरेर फर्कनेको संख्या भने घट्दो छ । दक्ष जनशक्तिहरु यसरी किन विदेसिदैं छन् ? यो प्रश्नको उत्तर सबैले सजिलै दिन्छन् । ‘देशमा गुणस्तरीय शिक्षा भएन, अवसर भएन भनेर ।’

देशमा गुणस्तरीय शिक्षाको अभाव भएपछि त्यसको खोजिमा विदेशिनु किमार्थ गलत हैन । तर, त्यसैको वहानामा विदेशमै पलायन हुनु भनेको चाँहि देश र अभिभावक प्रतिको कर्तब्य विर्सनु हो । यसरी सबैले वहाना बनाएर विदेशिने हो भने, भोलीका दिनमा नेपाल कमजोर र अदक्ष जनशक्तिहरुको देश भनेर नचिनिएला भन्न सकिन्न । तथापि, यति भन्दाभन्दै बेदेशिक शिक्षामा गएर उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएका केहि दक्ष जनशक्ति पुनः नेपालमै आएर राष्ट्र निर्माणमा टेवा पुर्याउनु आफैंमा सकारात्मक पक्ष हो ।

नियामक निकायदेखि आम बौद्धिक वर्ग जसरी सहजरुपमा गुणस्तरीय शिक्षा भएन भनेर कराउँदैछन्, त्यहि अनुरुप नेपालको शिक्षा सुधार्न कसैको आँखा पुग्न सकेको छैन । अझै पनि हाम्रो शिक्षा पद्दति १९ औं शताब्दीकै छ । तर, त्यसलाई सुधार्न नत राज्यले उचित नीति ल्याउन सकेको छ, नत शिक्षाका नाममा अरबौंको डलर खर्चने डलरबादीले । देशका लागि चाहिने प्राविधिक शिक्षाको विकास र बिस्तारमा कसैको ध्यान जान सकेको छैन ।

राज्यको नीति नियम बनाउने क्षेत्रमा बस्नेले शिक्षालाई राजनीतिकरण गरेर लूटि खाने मेलो बनाएका छन् । विश्वका विकसित देशले शिक्षालाई विकासको मेरुदण्ड बनाउँदा हाम्रो देशमा शिक्षाको बजेट दिन प्रतिदिन घटाइदैछ । अनिवार्य शिक्षा भनेर वकालत गर्ने राज्यले यसरी दिन प्रतिदिन शिक्षामा लगानी घटाउनु ठिक हैन ।

अहिले यूवाहरु उच्च शिक्षाका लागि विदेशिँदै गर्दा उनीहरुमा स्वदेश प्रतिको माया हराउँदै गएको छ । उच्च शिक्षा हासिल गर्ने भन्दै विदेशिएकाहरुमा स्वदेश प्रतिको माया घट्दा त्यसले हाम्रो सामाजिक संरचना पनि भत्कँदै गएको छ । खासगरी अभिभावकले लाखौं ऋण गरेर विदेश पठाएका छोराछोरीहरु उतै सेटल भएर घर परिवार र अभिभावक प्रति आफ्नो कर्तब्य पुरा नगर्दा बृद्ध अवस्थामा उनीहरुको बेहाल भएको छ ।

यो समस्या बाहिरबाट हेर्दा जति सहज छ, भित्रबाट त्यत्तिकै विकराल भएको छ । अहिले हाम्रो समाजमा कुनै त्यस्तो घर परिवार भेटिन्न जसका परिवार विदेशिएका छैनन् । चाहे उच्च शिक्षाका लागि होस् या बैदेशिक रोजगारीका नाममा ।

अब राज्यले यो विषयमा सोच्न आवश्यक छ । देशका लागि आवश्यक जनशक्ति प्रतिदिन पलायन हुनु राष्ट्रमा बुढाबुढी मात्रै रहने हो भने, विकासको पथमा लम्किने सुरसार गरेको देश अधोगतिमा नहिँड्ला भन्न सकिन्न । अतः अब देशमा युवाहरुलाई भित्र्याउन, स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न अनी नेपाललाई शिक्षाको हब बनाउन पनि राज्यले उचित नीति अवलम्बन गर्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *