दिल्ली महिला अायाेगले मध्यरातमा गर्याे १६ नेपाली महिलाकाे उद्दार

एजेन्सी । भारतकाे दिल्लीबाट मध्यरातमा करिब डेढ दर्जन नेपाली महिलाकाे उद्दार गरिएकाे छ । दिल्ली महिला आयोगको टोलीले मंगलबार मध्यरातमा १६ नेपाली महिलाको ‘उद्दार’ गरेको हाे ।

मानव तस्करले कुवेत र इराक पठाउन लगेका ती महिलालाई दिल्लीको मुनिर्का क्षेत्रको एउटा सानो कोठाबाट ‘उद्दार’ गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले ट्वीटरमार्फत् जानकारी दिएकी छन्।

आयोगमा आएको सूचनाका आधारमा दिल्ली प्रहरीलाई लिएर राति साढे १ बजे उनीहरू बसेको घरमा छापा मारिएको थियो। वैदेशिक रोजगारीको आश देखाएर दलालले ती महिलालाई बेचबिखन गर्न लागेको आयोगको दाबी छ। ‘उद्धार’ गरिएका सबै महिलाका पासपोर्ट दलालले नै राखेको बताइएको छ।

आयोग अध्यक्ष मालिवालले ८ महिनादेखि सो क्षेत्रमा महिलाहरूलाई राखिएको उल्लेख गर्दै सो घर प्रहरी स्टेशनबाट पाँच सय मिटरमात्र पर भए पनि प्रहरीले अहिलेसम्म कुनै चासो नराखेकोमा असन्तुष्टि जनाएकी छन्।

उद्दार गरिएका महिलाले आफ्ना ८ १० जना साथीहरूलाई इराक र कुवेत पठाइसकिएको जानकारी दिएका छन्। तर उनीहरूले आफूखुसी यहाँ आएका वा झुक्काएर ल्याइएको बारे बोलेका छैनन्।

दिल्ली प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। दिल्ली हुँदै खाडी र मध्यपूर्वमा नेपाली महिलाहरू काम गर्न जाने गर्छन्। तीमध्ये कतिपयलाई दलालले नक्कली पासपोर्ट र अर्कैको भिसामा पठाउने गरेका छन्।

यी महिलाहरूसँग पार्सपोर्ट र भिसाका बारे केही खुलाइएको छैन। यसैबीच दिल्लीस्थित नेपाली राजदूतावासले पनि उद्दारका बारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ। परराष्ट्र प्रवक्ता भरत पौडेलले दूतावासले जानकारी लिइरहेको र थप विवरण आउन बाँकी रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =