डा. केसीकाे अनशनकाे अाज २६ औँ दिन, सहमति जुटाउने सरकारको पहल

काठमाडौं, साउन ९ । चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध असार १६ देखि जुम्लाबाट अनशन शुरू गरेका डाक्टर गाेविन्द केसी १६ औं पटक अनशन बसेकाे अाज २६ दिन भएकाे छ । अनशनरत डा. केसीको माग सम्बोधनको लागि सरकारले पहल थालेको छ ।

मंगलबार दुई पक्षबीच भएको वार्ता सकारात्मक भएको र बुधबार फेरि वार्ता गरेर टुंगो लगाउने तयारी भैरहेको सरकारी वार्ता टोलीले जनाएको छ । सरकारको तर्फबाट नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रियाको थालनी गर्नुभएको हो ।

उहाँले मंगलबार दिउँसो केसीको वार्ता टोली र सरकारी पक्षसँग विभिन्न चरणमा छलफल गर्नुभयो । उहाँले डा. केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग छलफल गर्नुभएको थियो ।

त्यसपछि सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्ता सकारात्मक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् ।

सरकारी टोलीका वार्ता संयोजक खगराज बराल र केसी पक्षका वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा केसीले उठाएको धेरै माग सम्बोधन भएको र केही माग टुंगिन बाँकी रहेको जनाइएको छ । वार्ता सकारात्मक रहेकाले बुधबार पुनः बैठक बसी निष्कर्ष निकाल्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

यसअघि विधेयक फिर्ता गर्नुपर्ने अडानमा रहेको डा. केसी पक्ष लचक भएको छ । केसी पक्षले विधेयकमाथिका टिप्पणी र संशोधनसम्बन्धी विषय समेटिएको लिखित प्रतिवेदन नेता नेम्वाङलाई दिएको थियो । सरकार पनि विधेयक संशोधन गर्न तयार भएको छ ।

दुवै पक्ष लचिलो भएकाले बुधबार सहमति जुट्ने आशा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *