कामदार पठाउने बाटो तत्काल खोलिदिन मलेसियासँग नेपालको आग्रह

काठमाडौँ, साउन ८ । मलेसियाका अन्तरमन्त्रालयको छलफल हुन नसक्दा नेपाली कामदारबारे निर्णय लिन केहि समय लाग्ने भएको छ ।

मलेसियाको मानव संसाधन मन्त्रालयका अधिकारीहरुले मंगलबार कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलसँगको भेटमा उच्च तहमा छलफल हुन बाँकी नै रहेको बताएका हुन् ।

आफ्नो मन्त्रालयमा यस विषयमा छलफल भएपनि अध्यागमनको निर्णय गृहले गर्ने भएकाले गृहसँग र उच्च राजनीतिक तहमा छलफल गर्न बाँकी नै रहेको डिपुटि अन्डर सेक्रेटरी बासाह विन बाचिकले जानकारी गराए । यद्यपी नेपाली कामदार ठगिएको विषयमा छलफल सकरात्मक भैरहेको उनको भनाई छ ।

छलफलमा मलेसियाले नेपाली कामदार नरोक्न आग्रह गरेपनि नेपाली प्रतिनिधिले अहिलेकै अवस्थामा पठाउन नसकिने र जतिसक्दो छिटो सहजिकरण गरिदिन आग्रह गरेका छन् ।

दुवै पक्ष नेपाली कामदार रोकिँदा राम्रो सन्देश नगएको विषयमा भने एकमत छन् । तर नेपाल अहिलेकै अवस्थामा कामदार पठाउन नसक्ने र मलेसियाले पनि तत्कालै अर्को निर्णय नगर्दा कामदार पठाउने बाटो बन्द भएको हो ।

मलेसियाले आन्तरिक छलफल र उच्च तहबाटै निर्णय लिनु पर्ने भएकाले समय लाग्ने बताएको छ भने नेपाल पहिलेको प्रक्रियाबाट कामदार पठाउन सहमत छैन । नेपाली कामदार पठाउनै बन्द गरिएपछि मलेसियाको चासो भने चुलिएको छ ।

अब हुने गृहसँगको छलफलमा यस विषयमा कुरा उठाउने मानव संसाधन मन्त्रालयका अधिकारीहरुले बताए । नेपालले भने तत्कालका लागि भिसा शुल्क मात्रै लिएर दूतावास मार्फत नै प्रक्रिया मिलाइदिन आग्रह गरेका थिए ।

नयाँ सम्झौताका विषयमा सामान्य छलफल भएको र दुवै पक्षले थप छलफल गरेर टुंग्याउने कुरा भएको नेपाली दूतावास मलेसियाले जनाएको छ । आप्रवासी कामदार हेर्ने छुट्टै निकाय बनाउने विषयमा समेत मलेसियाले छलफल अगाडि बढाएको अधिकारीहरुले बताए ।

यसअघि दूतावासमै पुगेर सामान्य छलफल गरेका मानव संसाधन मन्त्री कुला सेगरनले मंगलबार विशेष निर्णय गर्ने संकेत गरेपनि आन्तरिक तयारी नपुगेपछि छलफल आश्वासनमै सिमित भयो ।

मन्त्रीको सन्देश लिएर आएका मन्त्रालयका अधिकारीले केहि दिनमै गृहमन्त्रालय सहित छलफल गर्ने र त्यसपछि निर्णय हुने बताएका थिए । गृहमन्त्री विरामी विदामा भएकाले तत्कालै महत्वपूर्ण निर्णय लिन नसकिएको मलेसियाका अधिकारीहरुले बताए । राजनीतिक तहमा नै छलफल गर्नु पर्ने विषय उठेकाले यसलाई मलेसियाले गम्भिरताका साथ लिएको उनीहरुको भनाई थियो ।

नेपालले उठाएको भिसा शुल्क र विभिन्न संस्थाका नाममा उठाइरहेको अतिरिक्त शुल्कको विषयमा निर्णय गर्न सकिने उनीहरुको तर्क थियो । नेपाली प्रतिनिधिले भने जतिसक्दो छिटो नेपाली कामदारलाई मलेसिया आउने वातावरण बनाइदिन आग्रह गरेको थियो ।

मलेसियाले बंगलादेशी कामदार रोकेकै समयमा नेपाली कामदार समेत पठाउन बन्द गरिएको विषयले राम्रो सन्देश नगएको मलेसियाका अधिकारीले बताए ।

नेपाली कामदारको विषयमा छिटो निर्णय गर्न त्यहाँका सत्तासिन दलका सांसद र रोजगारदाताले समेत दवाव दिन थालेका छन् । नेपालले भने जेठ २ गते अघि नै भिसा लागिसकेका बाहेकका कामदार नपठाउने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली कामदार नठगीने अवस्था नबन्दा र सम्झौमा पुनरबिचार नगरिएसम्म नपठाइने बताउँदै आएका छन् ।

नेपाली कामदार ठगिने र समस्यामा पर्ने घटना बढ्दै गएपछि श्रम मन्त्री विष्ट मलेसियाको विषयमा कडा निर्णय लिन बाध्य भएका हुन् । मलेसियामा कामदार पठाउनै बन्द गरेपछि मात्रै मलेसियाले नेपाली कामदारको सुरक्षामा चासो दिन थालेको हो ।

नेपाली कामदार ठगिएको विषयमा छानविन हुनु पर्ने माग समेत त्यहाँका सांसदले उठाउन थालेका छन । नेपाल भने पहिलेका संस्था खारेज गर्ने निर्णय भैसकेपछि अब पठाउने प्रक्रियाका बारेमै अन्योल छ ।

 मलेसिया कामदार पठाउँदा भिसा, मेडिकल लगायतका प्रक्रिया कस्तो हुने भन्ने नै अन्योल छ । यस अघि यस क्षेत्रमा अतिरिक्त शुल्क लिएर काम गरेपछि ती संस्था खारेज छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =