डा. केसीकाे अनशनकाे अाज २५ औँ दिन, स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं, साउन ८ । चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध असार १६ देखि जुम्लाबाट अनशन शुरू गरेका डाक्टर गाेविन्द केसी १६ औं पटक अनशन बसेकाे अाज २५ दिन भएकाे छ । २५ औँ दिनसम्म पनि उनको मागको सुनुवाइ हुने संकेत सरकारले देखाएको छैन । पटक पटक वार्ताका लागि सरकारी टोलीको समिति गठन गरेतापनि सरकारी पक्ष र डा।केसी पक्षको अडानका कारण औपचारिक वार्ता भने अझै हुन सकेको छैन ।

उनकाे याे अनशन सबैभन्दा लामाे अनशन हाे । अनशनरत केसीकाे स्वास्थ्यअवस्था जटिल बन्दै गएकाे छ । उनलाई जुनसुकै समय जे पनि हुन सक्ने चिकित्सकहरूको भनाइ छ । शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्तकणको सङ्ख्या सामान्य स्तरभन्दा निकै तल गइसकेको छ ।

६१ वर्षीय डा केसीको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति धेरै जोखिमपूर्ण हुने चिकित्सकहरूको ठम्याइ छ । ८० वर्षीया आमाको विशेष आग्रहमा डा केसीले हिजो स्वास्थ्य परीक्षण गराउनु भएको थियो । यसअघि डा केसीको ११ औँ अनशन २३ औँ दिनमा स्थगित भएको थियो ।

यस्तै डा. केसीको मागमा ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक संघले आजदेखि ओपीडी टिकट, रसिद, बिल बहिष्कार गर्ने भएको छ । बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गर्दै संघले ओपीडी टिकट बहिस्कार गरेको हो ।

संघले हिजो पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। जसअनुसार संघले उपत्यका बाहिरका डाक्टरहरुलाई पनि नियमित ओपीडी टिकट बहिस्कार गर्दै रिले अनशन तथा धर्नाका कार्यक्रम गर्ने बताएको छ ।
यसैविच उपत्यकाका चिकित्सकहरू वसन्तपुरमा सामूहिक अनशन बस्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *