देशमा आउने सानातिना समस्या सहजै हल हुन्छ: प्रधानमन्त्री अाेली

काठमाडाैं, साउन ८ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताएका छन् । छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकाले त्यसलाई इमान्दारिताका साथ पूरा गर्ने बताए । “म कुनै पनि काम पर्दा पछाडि गर्दिन”–प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।”

‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यको विकासमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

वरिष्ठ गीतकार रमोला देवी शाह छिन्नलताको ९६ औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त समारोहमा छिन्नलता गीत पुरस्कार गुठीले छिन्नलता गीत पुरस्कार–२०७४ बाट गीत रचनातर्फ ज्ञानेन्द्र गदाल तथा संगीत रचनातर्फ वसन्त क्षेत्रीलाई सम्मानित गरेको छ । सो पुरस्कारको राशि जनही रु ५० हजार तथा सम्मानपत्र रहेको छ ।

त्यस्तै गायिका संगीता प्रधान राणालाई पनि सो पुरस्कारबाट सम्मान गरियो । सो पुरस्कारको राशि ५० हजार तथा सम्मानपत्र रहेको छ ।

त्यस्तै राजनराज शिवाकोटी र मेलिना चाम्लिंग राईलाई प्रतीभा पुरस्कार प्रदान गरियो । संयुक्त रुपमा प्रदान गरिएको सो पुरस्कारको राशि क्रमशः ३५ हजार तथा सम्मानपत्र रहेको छ ।

त्यस्तै शान्ति ठताल तथा शिवशंकर थापालाई जनही रु ५० हजार राशिको विशेष सम्मान गरियो ।

पुरस्कृत व्यक्तित्वको तर्फबाट गीतकार ज्ञानेन्द्र गदालले गीत संगीतको विकास नभई नेपालको आर्थिक विकास नहुने भएकाले कला, संस्कृति तथा गीतको समग्र विकासका लागि सरकारको ध्यान जानुपर्ने बताए ।

राष्ट्रियसभाका सदस्य कोमल ओली, गुठीका संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले स्व रमोलादेवी शाह छिन्नलताले गीत संगीतको क्षेत्रमा दिनुभएको अतुलनीय योगदान बिर्सन नसकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *